
बुटवल, २४ पुस । बुटवलदेखि नुवाकोटसम्म अत्याधुनिक एवं बिशेष प्रबिधि युक्त केबुलकार संचालन हुने बिषयको टुंगो लागेको छ । लामो समयदेखि जग्गा अभाव र बिवादका बिच रुमल्लिरहेको बुटवलबासीको आफ्नै घरआगनबाट केबुलकार चढ्ने सपना अब पुरा हुने भएको छ । ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र मणिमुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तरपुर्वपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म संचालन हुने सो केबुलकारको लम्बाई २ किलोमिटर ९० मिटर रहने छ ।
केबुलकार संचालनका लागि आवश्यक जग्गा प्राप्तिको प्रकृयामा रहेको सिद्धार्थ केबुलकार प्रा.लि.ले बुटवल सामुदायिक बन उपभोक्ता समुहबाट सहमती प्राप्त गरि नियमनकारी निकायमा सिफारिस गरेपछि केबलकार संचालनको पुर्व तयारी अन्तिम चरणमा पुगेको हो । १ अर्ब १० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने सो केबरलकारको बेस स्टेशन बुटवल माबिको उत्तरपट्टिको शिखरदेउराली भन्ने स्थानमा रहने छ भने टप स्टेशन पाल्पा जिल्लाको नुवाकोट डाँडामा रहने छ । सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न गरि संचालनमा आउने महत्वाकांक्षी योजनाका साथ शुरुभएको केबुलकारको संचालन भएपछि प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउनेछन् ।
स्थानीय बन उपभोक्ता समितिको सहमतीमा नेपाल सरकार, बन मन्त्रालयबाट आवश्यक जग्गा प्राप्तीपछि सो केबुलकारको निर्माण यसै बर्ष शुरु हुने सिद्धार्थ केबुलकारका संचालक ई.राजेन्द्रसिंह गुरुङ्ले बताउनु भयो । उहाँका अनुसार केबुलकार सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुदायिक बन उपभोक्ता समिति १–२ रुपन्देहीले सहमती प्रदान गरिसकेको छ ।
उपभोक्ता समितिको सहमती र सम्बन्धित निकायमा सिफारिसका लागि आवश्यक निर्णय गर्न गत शनिबार बिशेष भेलाको आयोजना गरिएको थियो । सिद्धार्थ केबुलकार प्रा.ली.का कन्सल्टेण्ट एवं रोपवे नेपालका अध्यक्ष ई.गुणराज ढकालका अनुुसार अवको ४ महिनापछि केबुलकारको निर्माण शुरु हुनेछ भने निर्माण शुरुभएको १८ महिनामै सम्पन्न हुने छ । सहमतीपछि जग्गा हस्तान्तरण, रुख कटानीका लागि अनुमती लगाएतका आवश्यक प्रकृया पुरा गर्न करिब ३ महिना लाग्ने ढकालले बताउनुभयो ।
बुटवलदेखि नुवाकोटसम्म केबुलकार संचालनपछि पुरानो बटौली बजार क्षेत्रको बिकासमा टेवा पुग्ने बिश्वास गरिएको छ । शुरुवातमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहेको सो केबुलकारको अधिकतम क्षमता दैनिक १० हजार यात्रु बोक्ने रहेने छ । शुरुआतमा १ घण्टामा १ हजारका दरले स्वदेशी वा बिदेशी पर्यटक बोक्ने लक्ष सहित स्थापना हुन लागेको सो केबुलकारमा अधिकतम ९० वटा डिब्बा रहने सिद्धार्थ केबुलकार प्रालीले जनाएको छ ।
पश्चिम नेपालका बिभिन्न जिल्लाहरुका साथै भारतको गोरखपुर, लखनउ, बनारस र बिहारका बिभिन्न स्थानका समेत गरि करिब ८ करोड जनसंख्या यसको लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिशतमात्रले एकपटक यो केबुलकार चढेमा ८० लाखले यो मौका प्राप्त गर्ने अनुमान गरिएको ई. ढकालले भेलामा जानकारी गराउनु भयो । केबुलकारको लागि करिब ७ कठ्ठा जग्गा आवश्यक पर्ने र जग्गाका लागि आवश्यक कार्य भईरहेको पनि उहाँले बताउनु भयो ।