दुर्घटनामा दुईको मृत्यु

1.3K

दुर्घटनामा दुईको मृत्यु

नवलपरासी, २५ पुस । नवलपरासीमा मंगलबार भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार नवलपरासीको रामग्राम नगरपालिका ११ रानीपाकड स्थित भूमही भैरहवा सडक खण्डमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो भने सात जना घाइते भएका हुन् ।

परासीबाट भूमहीतर्फ जांदै गरेको लु १ ख ९२३६ नम्बरको बस र विपरित दिशाबाट आउंदै गरेको ना ५ ख ९२४५ नम्बरको ट्रक एक आपसमा ठक्कर खांदा ९ जना घाईते भएका थिए । उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी बसमा सवार नवलपरासीको रामग्राम नगरपालिका २ निवासी ३५ बर्षीय अरविन्द्र ठाकुर र बसका सहचालक नवलपरासीको रामग्राम ५ निवासी २६ बर्षीय जितेन्द्रकुमार पाण्डेको निधन भएको हो । उनीहरुको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनु भयो ।

त्यस्तैगरी चिसोका कारण नवलपरासीमा एक जनाको ज्यान गएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका १२ का बयोबृद्ध चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको छ । कोल्हुवा प्रहरी चौकीले दिएको जानकारी अनुसार चिसोका कारण ८२ वर्षीय यमवहादुर ठाडा कठ्याङ्ग्रीएर मृत्यु भएको हो । ठाडा गएको आईतवार दिउसो घरबाट वेपत्ता हुनु भएको थियो ।

परिवारले खोजी गरिरहेको समयमा सोमवारराति मधयविन्दु नगरपालिका १५ मा पर्ने नारायणी नदी किनारमा मृत अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।