
बुटवल, २ फागुन । पाँच नम्बर प्रदेशको मुख्य मन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनु भएको छ । बुधबार प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश पाँचको मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
प्रदेश सभामा ४१ सदस्य रहेको एमाले र २० सदस्य रहेको माओवादी केन्द्र गरी ६१ सदस्य रहेका दुई राजनीतिक दलले प्रदेश सभा सदस्य पोखरेललाई मुख्य मन्त्री पदमा समर्थन गर्ने निर्णय गरेकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख झाले उहालाई मुख्य मन्त्री पदमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको कार्यालयले मंगलबार कार्यालयमै पत्रकार सम्मेलन गरि एमाले संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख झाले मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको जानकारी गराएको हो । एमाले र माओवादी केन्द्रले पोखरेललाई मुख्य मन्त्री नियुक्तिकोलागि गत माघ २८ गते प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेका थिए ।
प्रदेश पाँचमा कुनै पनि राजनीतिक दलले बहुमत प्राप्त नगरेको तथा कुल ८७ सदस्य रहेको प्रदेश सभामा एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ सदस्य रहेका दुई दलले समर्थन गर्ने निर्णय गरि पोखरेललाई मुख्य मन्त्रीमा नियुक्तिको प्रक्रिया अंगाडी अनुरोध सहित एमाले संसदीय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख झालाई बुझाएका थिए ।
मुख्य मन्त्रिको नियुक्तसंगै बिहिबार उहाँलाई सपथ ग्रहण गराउने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ । प्रदेश प्रमुखको निवास (सडक विभागको गेष्टहाउस) परिषरमा दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका सचिव दवाडीले जानकारी दिनुभयो ।