प्रदेशसभा संचालनमा चुनौति : सभामुख

1.3K

प्रदेशसभा संचालनमा चुनौति : सभामुख

बुटवल,फागुन । पाँच नम्बर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा चुनौति रहेको बताउनु भएको छ । संघीय संरचनामा नयांनयां अभ्यास भएकाले प्रदेशसभा सञ्चालनमा चुनौतिहरु देखिएको उहांले बताउनुभयो ।

उहांले संघीयताको अभ्यास बांझोेवारीको डल्ला फुटाउने जस्तै भएको उल्लेख गर्दै सभामुख घर्तीले चुनौतिलाई सहजतामा लैजान सबै मिल्नुपर्ने बताउनुभयो ।

शनिबार बुटवलमा सम्पन्न खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको ११ औं साधारण सभा तथा छैठौं अधिवेशनमा बोल्दै सभामुख घर्तीले जनताको अधिकारलाई अधिकार दिनेगरी प्रदेश सभाबाट नयांनयां नियम कानुन बनाउनु पर्ने र त्यसका लागि तयारी भैरहेको उल्लेख गर्नुभयो ।

पाँच नम्बर प्रदेशलाई एक नम्बरको प्रदेशको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सबै मिलेर एकसाथ अगाडी बढ्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । प्रदेशसभा भवन व्यवस्थित नभएको बताउंदै व्यवस्थित रुपले संसद बैठक चलाउन अहिलेको संसद भवन उचित नभएकाले व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।

सहकारीको माध्यमबाट जलविद्युत, पर्यटन, कृषि, उद्योगको विकास गर्नुपर्ने भन्दै उहांले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । मुल्यसूची निर्धारण गरेर उपभोग्य वस्तु विक्री वितरण गर्नपर्ने बताउदै सभामुख घर्तीले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरेर उपभोग्य वस्तु विक्री वितरण गर्न समेत व्यवसायीलाई आग्रह गर्नुभयो ।

वाणिज्य कार्यालय भैरहवाका प्रमुख देवप्रकाश उपाध्यायले अपभोक्ताको हितलाई ख्याल गरेर किराना व्यवसायीलाई समान विक्री गर्न आग्रह गर्नुभयो । खुद्रा किराना व्यवसायी संघ केन्द्रिय संयोजक लक्ष्मण न्यौपानले खुल्ला सीमानाबाट हुने अबैध गतिविधिले व्यवसायी समस्यामा रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेपाली कांगे्रस महाधिबेशन सदस्य युवराज गिरी, नगर सभापति खेलराज पाण्डे, माओवादी केन्द्रका सुदिप न्यौपाने, रुपन्देही व्यापार स्ंघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष विमलराज भट्टराई, रुपन्देही उद्योग संघका महासचिव कृष्ण पराजुली, रुपन्देही व्यापार संघका नामदेव पाण्डे, उपभोक्ता हित संरक्षण मञ्चका तेजकुमार पाठक, घरवहाल सरोकार संघका खगेन्द्र पौडेल, गंगाधर न्यौपाने लगायतले बोल्दै व्यवसायीका समस्याप्रति सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष कमला गौतमको अध्यक्षता र महासचिव ज्ञानप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।