परिपूरण मापदण्ड निर्धारणकालागि आयोगद्वारा सुझाव संकलन

1.3K

परिपूरण मापदण्ड निर्धारणकालागि आयोगद्वारा सुझाव संकलन

बुटवल, १ चैत । सत्य निरुपण तथा मेलमिलाप आयोगले परिपुरण मापदण्डालाई पूणता दिनकालागि सुझाव संकलन गरेको छ । आयोगले प्रदेश नं. ५ को बुटवलमा बुधबार एक कार्यक्रमको आयोजना गरि परिपुरण मापदण्ड सम्बन्धि सुझाव संकलन गरेको हो ।

सुझाव संकलन कार्यक्रममा पिडितको आत्म सन्तुष्टि हुने वातावरण बनाउनु पर्ने, पिडित परिवारका सदस्यलाई निशुल्क स्वास्थ्य तथा शिक्षा र रोजगारीको अवसर प्रदान गर्नुपर्ने, पिडितले क्षमा गर्नकालागि पनि पिडकको पहिचान हुनेगरी नीति बनाउन सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा बोल्दै सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वकालिन घटनाका झण्डै ६३ हजार उजुरी आयोगमा दर्ता भएको र सात हजार उजुरी छानविन भईसकेको बताउनु भयो ।

त्यसबाहेक म्याद नाघेर समेत २ हजार उजुरी आएको आयोगले जनाएको छ । आयोगमा परेका उजुरी छानविन गर्न स्रोत साधन तथा समयको अभाव र विवादको प्रकृतिका कारण धेरै जटिलता भएको बताउँदै उहाँले अव जिल्लामा नै छानविन हुने भएकाले चाँडो हुने विश्वास व्यक्त गर्नुभयो ।

सत्य निरुणपण तथा मेलमिलाप आयोग स्थापना भएको तीन वर्ष भईसकेको छ भने अध्यादेश मार्फत आयोगको म्याद १ वर्ष थप भएको छ । त्यस्तै आयोगले स्रोत साधन तथा समय अभावका कारण पाँच नम्बर प्रदेशमा दुई स्थानमा मात्रै सुझाव संकलन गर्न लागिएको उहाँले बताउनु भयो ।

यसरी संकलन गरिएको सुझाव तथा घटनाको पहिचान तथा त्यसको बस्तुगत अध्ययन गरेर नीति बनाउनकालागि छिटै सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी गराउनु भयो ।