सरकारका कामकारवाही बाट संघीयता उल्टो दिशामा : खाँण

1.3K

सरकारका कामकारवाही बाट संघीयता उल्टो दिशामा :  खाँण

बुटवल, १४ चैत । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारका कामकारवाहीले संघीयतालाई उल्टो दिशामा लैजाने संकेत गरेको टिप्पणी गर्नुभएको छ । ‘सरकारले सय दिन पुरा नगरिसकेकाले धेरै कमेन्ट त गर्न भएन ।’ उहाँले भन्नुभयो–‘तर सरकारका कामकारवाहीलाई हेर्दा संघीयतालाई उल्टो दिशामा लैजाने प्रारम्भिक लक्षणहरु देखिएका छन् ।’

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठौ जिल्ला अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेताखाँणले प्रधानमन्त्री आफू शक्तिशाली बन्नका लागि शक्ति केन्द्रीकृत गर्ने काम शक्तिविकेन्द्रीकरणको सिद्धान्तविपरित भएको बताउनु भएको हो ।

त्यस्तै उहाँले काँग्रेस कमजोर हुँदा राष्ट्रियता तथा लोकतन्त्र पनि कमजोर हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय शक्तिहरुले निहित स्वार्थ पुरा गर्नका लागि काँग्रेसलाई कमजोर बनाउने प्रयत्न गरेको समेत आरोप लगाउनु भयो । वर्तमान सरकारका गतिबिधिकै कारण शेयर बजार ओरालो लागेजस्तै मुलुकको अर्थतन्त्रबिग्रिदै गएको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेताखाँणले जनताको आयस्रोत घट्दै गएको र खाध्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरुको मुल्य बृद्धिहुँदै गएको बताउनु भयो ।

फरक प्रसंगमा उहाँले सरकारको पहिलो प्राथमिकता मजदुर र किसानमा हुनुपर्ने धारणा राख्नुभयो । अहिले मजदुरको ज्याला दैनिक गुजारा चलाउन नपुग्ने भएको बताउँदै पूर्वमन्त्रीखाँले कम्तिमा पनि मासिक १५ हजार हुनुपर्नेमा जोड दिनुभयो । मजदुरको न्यूनतम ज्याला मासिक १५ हजार भन्दाबढी हुनेगरी सरकारसंग मागगर्न र नभए आन्दोलन गर्न सुझाव दिँदै आन्दोलनमा नेपाली काँग्रेसको साथ र ममर्थन हुने उहाँले आश्वासन दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले मजदुरका हकअधिकारका लागि नेपाली काँग्रेस सधै साथमा रहेको बताउनु भयो । अधिवेशनको उद्घाटन समारोहमा नेपाल ट्रेड युनियनकाँग्रेस रुपन्देहीकापूर्व अध्यक्षहरु, आवद्ध संघका संस्थापक अध्यक्षहरु तथा आवद्ध संघमा केन्द्रमा निर्वाचित जिल्लाका मजदुर नेताहरुलाई सम्मान गरिएको थियो ।

नेपाल ट्रेड युनियनकाँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरी, रुपन्देही जिल्ला सचिव रामकृष्णखाँण, क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्साल, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका पूर्व अध्यक्ष रेश्मीराज गैरे, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय अध्यक्ष जेवि गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय महासचिव सोमनाथ गिरी, काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, रिक्सा तथा ठेला मजदुर संघका अध्यक्ष प्रकाश पाठक, नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष विश्वबन्दु विनयी लगायतले ट्रेड युनियन अधिकार र मजदुका समस्या समाधानमा सरकार गम्भिर नभएको बताउँदै मजदुर अधिकारका लागि आन्दोलनको वातावरण नबनाउन सरकारलाई आग्रह गरेकाथिए ।

कार्यक्रममा युनियनका अध्यक्ष काजिमान श्रेष्ठको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुर्यदेव दासको आर्थिक प्रतिवेदनपारित भयो । कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही महिला समितिकी अध्यक्ष उसा रानाले गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्वचयन गर्नेछ ।