बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिब्र

1.3K

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिब्र

लुम्बिनी, बैशाख । यही वैशाख १५ देखि १७ गते लुम्विनीमा आयोजना हुने अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुने भएका छन् ।नेपालको तर्फवाट १६ वटा र विदेशीको तर्फवाट १६ वटा गरी ३२ वटा कार्यपत्र प्रस्तुत हुने र अन्तिम दिन लुम्बिनी घोषणा पत्र जारी गरिने लुम्बिनी बिकास कोषले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

२५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पनि तिब्र पारिएको छ । सम्मेलन सम्पन्न गर्न ६ करोड ९७ लाख रुपैयाँ लाग्ने कोषका उपाध्यक्ष अबधेस कुमार त्रिपाठीले जानकारी गराउनुभयो । सम्मेलन आयोजना गर्न नेपाल सरकारले कुनै आर्थिक सहयोग नगरेकाले कोषले आफ्नै वजेटवाट ६ करोड रुपैयाँ विनियोजन गरेको र बाँकी ९७ लाख रुपैयाँ अपुग भएको उपाध्यक्ष त्रिपाठीले बताउनु भयो । विनियोजित रकम मध्ये ४ करोड रुपैयाँको लगानीमा अस्थायी सभाहल नेपाली सेनाले एक महिनाभित्रै सक्नेगरी धमाधम निर्माण गरिरहेको छ । सभाहलको ९० प्रतिशत काम पुरा भइसकेको कोषले जनाएको छ । सोही सभाहलमा बुद्ध जयन्ती मूल समारोह आयोजना गरिने छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र बुद्ध जयन्ती मूल समारोहको उद्घाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्नुहुने छ । यस बर्षको सम्मेलनको नारा ‘लुम्विनी, नेपाल ः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमी तथा विश्व शान्तिको मुहान’ रहेको छ ।
कोषका उपाध्यक्ष त्रिपाठीले सम्मेलनमा १५ देशबाट संस्कृति तथा धार्मिक मामिला मन्त्री र २३ देशका बिभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहने जानकारी गराउनुभयो । अन्य राष्ट्रका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाउने जानकारी आएको छ ।

हालसम्म भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका राष्ट्रले सहभागिता जनाउने निश्चित भएको छ । बैशाख १५ र १६ गते आयोजना हुने वौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्विनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पुरा भएको जनाएकोे छ ।

कोषका ईन्जिनियर सरोज भट्टराइ र कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधिहरु सहभागी हुने बताउनु भयो । पत्रकार सम्मेलनमा पुर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले वुद्ध दर्शनको उर्वर भूमि लुम्बिनी हो भनेर प्रमाणित भएकोले यसैलाई आधार मानेर संसार भर यसको ब्यापक प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो ।