सडकको क्षेत्राधिकारमा बनेका घरमा डोजर

1.3K

सडकको क्षेत्राधिकारमा बनेका घरमा डोजर

बुटवल, बेशाख । सडकको क्षेत्राधिकार मिचेर बनेका बुटवलका तीन सय ११ घर भत्काउन डोजर प्रयोग गरिएको छ । बुटवलका तीन सय ११ घरहरुबुधवारवाट भत्काउन शुरु गरिएका बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले जनाएको छ ।बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले यही वैशाख ४ गते डोजर चलाउन थालेपछि घरधनीले अन्तिम पटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । एक हप्ताको समय मंगलवार सकिँदा पनि आफै भत्काउन सुरु नगरेका घरमा आयोजनाले डोजर लगाएको हो ।

बुधवार बिहान ११ बजेदेखि डोजर लगाएर भत्काउन थालिएको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताउनु भयो ।राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक मिचेर बनेका छन् ।अहिले ४ लेनमा रहेको यो सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया शुरु गरेसँगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए ।

आर्थिक वर्ष २०६८÷६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आव २०७०÷७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३÷७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ ।