बुटवल, २० जेठ । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारको नीति तथा कार्यक्रम अनुसार बजेट नआएको टिप्पणी गर्नुभएको छ । उहाँले आगामी आर्थिक वर्षकालागि सरकारले ल्याएको बजेटमा धेरै कमीकमजोरी भएको बताउनु भयो । उहाँले बजेट बायुपंखी भएको बताउँदै नीति तथा कार्यक्रम र बजेटले मेल नखाएको टिप्पणी गर्नुभयो ।
रिपोटर्स क्लवले आईतबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पूर्व अर्थमन्त्री महतले नेपाल दक्षिण एसियामा धेरै कर उठाउने मुलुकको सूचिमा रहेकाले यसले नीजि क्षेत्रको लगानी आकर्षण गर्न नसक्ने बताउनु भयो ।
उहाँले नीति तथा कार्यक्रममा नीजि क्षेत्रको लगानी अभिबृद्धि गर्ने भनिएपनि नीजि क्षेत्रको लगानी आकर्षण गर्ने कार्यक्रम बजेटमा नभएको उल्लेख गर्नुभयो । मुलुकको समृद्धिकालागि नीजि क्षेत्रको लगानी बृद्धि गर्न आवश्यक रहेको बताउँदै उहाँले तर बजेटले नीजि क्षेत्रलाई निरुत्साहित गर्ने दावी गर्नुभयो । ‘ट्याक्स कम भयो भने मात्रै नीजि क्षेत्रको लगानी बढाउन सकिन्छ ।’ नेता महतले भन्नुभयो–‘अहिले आएको बजेटले नीजि क्षेत्रलाई प्रोत्साहन गर्दैन ।’
सरकाले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूजी लगानी बिना आर्थिक बृद्वि संभव नभएको भन्दै सरकारले लगानीमा कर थोपरोर लगानी कर्तालाई निरुत्साहित गर्न खोजेको आरोप लगाए ।
उहाँले सरकारले एक वर्ष भित्रमा ५ लाख रोजगारी सिर्जना गर्ने भनीएपनि बजेटमा त्यस्तो कार्यक्रम नभएको बताउनु भयो । सरकारले औद्योगिक बिकास, पर्यटन लगाएतका क्षेत्रमा बजेटमा ठूला कुरा गरेपनि लक्ष्य हासिल गर्ने कार्यक्रम केही पनि दिन नसकेको टिप्पणी गर्नुभयो ।
उहाँले स्थानीय बिकास निर्माणमा केन्द्रीय सांसदको कुनै भूमिका नहुने बताउँदै सरकारले घुमाउरो रुपमा प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड रुपैंया दिने काम राम्रो नभएको बताउनु भयो । अहिले सरकारले ल्याएको बजेटले मुलुकको अर्थ व्यबस्थालाई धान्न नसक्ने बताउँदै केन्द्रीय सरकारको बजेट हेरेर मात्रै बजेटको आकार मुल्याङ्कन नगर्न अर्थसास्त्रीहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहको बजेट आएपछि मात्रै यसको आकार देखिने र उक्त बजेटले मुलुकको अर्थ व्यबस्था धान्न नसक्ने टिप्पणी गर्नुभएको हो ।
उहाँले सरकारले गरेका काममा बिरोधाभासहरुलाई औल्याएर प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसले खवरदारी गर्ने बताउँदै सत्ता पक्षको भजनमण्डली हुन नसकिने बताउनु भयो । उहाँले नेपाली काँग्रेस बिधान संशोधन सहित संगठन बिस्तार अभियानमा रहेकाले महासमिति बैठकपनि काँग्रेस बलियो भएर अंघि बढ्ने बताउनु भयो ।