शंकरनगर वनका पार्षदलाई सैद्धान्तिक प्रशिक्षण

1.3K

शंकरनगर वनका पार्षदलाई सैद्धान्तिक प्रशिक्षण

बुटवल, २७ जेठ । शँकरनगर सामुदाविक वन उपभोक्ता समूह १–४ रुपन्देहीले वैज्ञानिक वन व्यवस्थापनलाई थप व्यवस्थित गराउने गरी अभियान चलाएको छ । सामुदायिक वनले अभियानको रुपमा बेलाबेलामा वन सम्बन्धी प्रशिक्षण, गोष्ठी, भ्रमण, वृक्षरोपण, तारवार लागयतका कार्यक्रमहरु गर्दै आएको छ ।

वनप्रति आम उपभोक्ताई सचेत गराउने उद्देश्यले समूहका परिषद सदस्यहरुलाई वनको प्रत्यक्ष अवलोकन सहित सैद्धान्तिक विषयमा जानकारी गराईएको सामुदायिक वनका अध्यक्ष राम गिरीले जानकारी गराउनु भयो । ५ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रको अवस्था, भैरहेका काम, आगामी दिनमा गरिने काम र वन संरक्षणमा कार्य समिति, पार्षद तथा आम उपभोक्ताहरुको दायित्व र कर्तब्यका विषयमा सवै परिषद सदस्यहरुलाई सैद्वान्ति प्रशिक्षण सहित वन क्षेत्रको अवलोकन गराइएको छ ।

सामुदायिक वनका ३ सय ११ जना पार्षदहरुलाई आलोपालो गरी चार दिनसम्म वन क्षेत्र र वैज्ञानिक वन व्यवस्थापन गरिएको स्थानमा अवलोकन गराई प्रशिक्षण दिईएको समूहका उपाध्यक्ष रवि वस्नेतले वताउनु भयो । चोरी निकासी नियन्त्रण तथा डढेलोबाट वनलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा पार्षदहरुलाई सचेत गराउंदै वैज्ञानिक वन व्यवस्थापनबारे थप जानकारी गराउन पार्षदहरुलाई प्राविधिकको साथमा वनको अवलोकन गराईएको सामुदायिक वनका अध्यक्ष राम गिरीले बताउनु भयो ।

चार दिनसम्म तिलोत्तमा १–४ का सबै पार्षदहरुलाई पालैपालो प्रत्यक्ष रुपमा वनको अवलोकन गराई वनको महत्वबारे प्रशिक्षण दिईएको थियो । यही जेठ २४ गतेदेखि शुरु भएको वन अवलोकन तथा प्रशिक्षण कार्यक्रम आईतबार सकिएको छ । शँकरनगर सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सदस्यहरु र पार्षदहरुलाई वन अधिकृत गिरीराज गैरेले प्रशिक्षण दिनुभएको थियो । वनको संरक्षणका लागि उपभोक्ता वनमैत्री हुनुपर्ने र उपभोक्ता वनमैत्री भएमात्र वनको उचित संरक्षण हुन सक्ने र त्यसको प्रत्यक्ष फाईदा उपभोक्ताले नै लिन सक्ने वन अधिकृत गैरेले बताउनुभयो ।

सामुदायिक वनका अध्यक्ष राम गिरीको अध्यक्षता, उपाध्यक्ष रविन्द्र वस्नेतको स्वागत र सचिव इन्दु थापा मगरको सञ्चालनमा एक कार्यक्रमको आयोजना गरी चारदिने कार्यक्रम समापन गरिएको थियो । शँकरनगर सामुदायिक वनलाई विभिन्न ३ खण्डमा विभाजन गरी विगत दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रमलाई निरन्तरता दिईएको छ ।