अव नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार

1.3K

अव नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार

काठमाडौँ, २७ जेठ । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रूपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आईतबारको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६०० दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १०१ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा छ जना रहेको थियो । रासस