सरकार सर्वसत्तावाद उन्मुख भयो : अध्यक्ष राणा

1.3K

सरकार सर्वसत्तावाद उन्मुख भयो : अध्यक्ष राणा

बुटवल, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाले वर्तमान सरकार दुई तिहाई बहुमतको अहंकारले अधिनायकवाद तर्फ उन्मुख भएको बताउनु भएको छ ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मन्त्री परिषदको निर्णयले प्रधानमन्त्री कार्यालयमै सबै मन्त्रालयलाई चलाउन निर्देशन दिन सक्ने अधिकार सहितको तथा कथित विज्ञहरुको टोली नियुक्त गर्ने प्रक्रियाले जनवादी केन्द्रीयताको संकेत दिएको आरोप लगाउनु भयो ।

पहिले नै भएका सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुले पनि सरकार अधिनायकवाद तर्फ जानसक्ने संकेत गरेको भन्दै उहाँले सरकारको सर्वसत्तावादी कार्यशैलीलाई रोक्न प्रजातन्त्रवादी शक्तिहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

सरकार सर्वसत्तावाद तर्फ उन्मुख रहेका बेला प्रजातन्त्रवादी शक्तिहरु आन्तरिक समस्यामा फसेको बताउंदै अध्यक्ष राणाले प्रजातन्त्रवादी शक्तिहरुले आफु भित्रको समस्या समाधान गरि प्रजातन्त्रको रक्षाका लागि एकतावद्ध भएर खडा हुनुपर्ने आवश्यकता औल्याउनु भयो ।

मित्रवत सम्बन्धमा सुधार, उच्चतहको भेटवार्ता तथा उच्च नेतृत्वको नेपाल भ्रमणमा सहमति हुनु प्रधानमन्त्री ओलीको चीन भ्रमणको सफल पक्ष रहेको भन्दै उहाँले वि.आर.आइ. परियोजना मित्र राष्ट्र चीनसँग रेल सम्झौता, ट्रान्स हिमालयन ट्रान्समिशन लाईन तथा अप्टिकल फाइवर, लगानी, उर्जा विकास, आठ वटा उत्तरी नाकाहरु खोल्ने सम्झौता जस्ता ट्रान्स हिमालयन कनेक्टीभिटीका सम्झौताले जनतामा विकास र समृद्धिको केहि आसा र भरोसा जगाए पनि सहायताको प्रष्ट मोडालिटी नआएकोले कार्यान्वयनमा आशंका व्यक्त गर्नुभयो ।

वास्तविक रुपमा यी कार्यहरु कसरी हुने भन्ने प्रष्ट पार्न बाँकी नै रहेको र भए पनि व्यहोर्न कठीन हुने व्याजदर र आर्थिक अपारदर्शिताले मुलुक ‘डेब्ट ट्रयापमा’ पर्न सक्ने खतरा रहेको भन्दै उहाँले श्रीलंकाको हम्वनटोटा वन्दरगाहा चाइनिज सरकारी कम्पनीलाई ९९ सय वर्ष सम्मको लागि लिजमा दिनु र माल्दिभ्सले आफ्ना केही टापुहरु चाइनिज सरकारी कम्पनीको स्वामित्वमै दिएको उदाहरण प्रस्तुत गर्नुभयो ।

अहिले संचार माध्यमहरुमा विकास, संमृद्धि र यसको चाइनिज कनेक्सनको वारेमा वहस, छलफल र समाचारहरु तारान्तार आइरहेको भन्दै उहाँले वर्तमान सरकारले मिडिया म्यानेजमेन्ट संचालन गरी जनतामा भ्रमपूर्ण विश्वास स्थापित गर्ने प्रयास गरिरहेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष राणाले वि.आर.आई.अन्तर्गत आउने रेल परियोजनाका साथै अन्य परियोजनाहरुको लागि हुने लगानीको व्याजदर तथा अन्य सर्तहरु सावधानी पूर्ण रुपमा अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभयो ।