
बुटवल, २४ असार । नेपाल प्रेस युनियन रुपन्देहीका सदस्य तथा पत्रकार महासंघ प्रदेश न ५ का कार्यसमिति सदस्य पत्रकार रामविकास चौधरीलाई जिल्लाको समरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बव्लु) ले ज्यान मार्ने धम्की दिएको प्रति नेपाल प्रेस युनियन रुपन्देहीले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
लिखित रुपमा सूचना माग गरि सोहि सूचना लिन असार २१ गते कार्यालय समयमा पुग्दा अध्यक्ष शुक्लाले गरेको उक्त व्यवहार र धम्की अत्यन्तै निन्दनिय र आपत्तिजनक भएको युनियनका सभापति बिक्रम खड्काद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
समाचार लेखेको विषयमा चित्त नबुझे त्यसको अन्य कानुनी उपचार हुंदा हुदैं गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थितिमै अध्यक्ष शुक्लाले गरेको हर्कत स्वतन्त्र प्रेस तथा सूचनाको हकमाथिको गंभिर उल्लङ्घन भएको ठहर युनियनले गरेको विज्ञप्तीमा उल्लेख छ ।
स्थानीय सरकार जनताप्रति पुर्ण वफादारभई कार्यसम्पादनमा जुट्नु पर्नेमा त्यहां भएका कतिपय क्रियाकलाहरु पारदर्शी नभएको भन्ने प्रश्न उठाउंदा एउटा पत्रकारलाई गर्ने व्यवहारले अध्यक्षको कार्यक्षमता माथि समेत गंभिर प्रश्न उठेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘पत्रकार चौधरीको जिउधनको सुरक्षाका लागि स्थानीय प्रशासनसंग माग गर्दै दोषीलाई कानुन अनुसारको कारवाहीको लागि माग गर्दछौ ।’ बिज्ञप्तीमा भनिएको छ । साथै पत्रकार र पत्रकारितामाथिको ज्यादति र आक्रमणको घटनामा मुखदर्शक भएर नवस्ने चेतावनी युनियनले दिएको छ ।