‘ऐनमा निर्धारण भएविपरित कर नउठाउ’

1.3K

‘ऐनमा निर्धारण भएविपरित कर नउठाउ’

बुटवल, २ साउन । प्रदेश पाँचको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन, २०७५ ले निर्धारण गरे बाहेकका कर तथा शुल्क नउठाउन जानकारी गराएको छ । मन्त्रालयले विज्ञप्ती जारी गरी ऐनले व्यबस्था गरे बाहेक यसअघि जिल्ला समन्वय समितिबाट असुल गरिदै आएका पशु चौपाया कृषि सामाग्री निकाशी कर, तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेका बाटोमा लाग्ने गरेको पटके सवारी साधन कर नउठाउन आग्रह गरेको हो ।

प्रदेश नं. ५, प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन, २०७५ ले प्रदेश सरकार र स्थानीय तहको साझा सूचीमा रहेका मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, प्राकृतिक स्रोत शुल्क (ढुङ्गा गिट्टी, बालुवा, माटो र दहत्तर बहत्तरमा लाग्ने शुल्क) सम्बन्धित स्थानीय तहले असुल उठाउने व्यवस्था गरेको छ ।

उल्लेखित कर तथा शुल्कहरु बाहेक यसअघि जिल्ला समन्वय समितिबाट असुल गरिदै आएका पशु चौपाया कृषि सामाग्री निकाशी कर, तत्कालिन जिल्ला विकास समितिले निर्माण गरेका बाटोमा लाग्ने गरेको पटके सवारी साधन कर लगाउने व्यवस्था प्रदेश नं. ५, प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन, २०७५ मा नभएको हुँदा चालु आर्थिक वर्षको साउन १ गतेदेखि नै जिल्ला समन्वय समिति, स्थानीय तह र प्रदेश सरकारबाट उक्त कर तथा शुल्कहरु उठाउन नहुने व्यहोरा जानकारी गराएको हो ।

यदि कसैले प्रदेश कानून विपरित कर तथा शुल्कहरु उठाएको भए प्रदेश सरकारलाई जानकारी गराउन पनि विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।