
बुटवल, १२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनी स्थित मोक्षधाम सेवा आश्रममा शनिबारदेखि शिवपुराण ज्ञान महायज्ञ सुरु भएको छ । साउनको सुरुदेखि नै श्रावणी मेला सुरु भएको मोक्षधाम सेवा आश्रममा शनिबारदेखि शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गर्दै भौतिक सम्पत्तिले सुख प्राप्त भएपनि शान्ति र खुसी जिवनयापनकालागि आध्यात्मिक शक्ति आर्जन गर्नुपर्ने बताउनु भयो । उहाँले कथा श्रवण गरेपछि स्वभाव र संस्कारमा सुधार गर्न अपरिहार्य रहेको पनि बताउनु भयो ।
तिलोत्तमा नगरपालिका आफैमा देवस्थलको रुपमा देखिएको बताउँदै उहाँले पृथ्वीमै स्वर्गको परिकल्पना गरिएको मोक्षधामको बिकास प्रारुपले धार्मिक पर्यटकीय स्थलका रुपमा बिकास हुने समेत विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै धामका संरक्षक पं. ईश्वरकृष्ण शास्त्रीले सबैको मन मोक्षधाममा जोड्न सके धामको गुरुयोजना पुरा गर्न धेरै समय कुर्नु नपर्ने उल्लेख गर्नुभयो । सबै कुराको ज्ञान आध्यात्मबाट मात्रै प्राप्त हुने भएकाले त्यसैको पूर्णताकालागि मोक्षधाम सेवा आश्रमको परिकल्पना गरिएको आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले उल्लेख गर्नुभयो । ‘पृथ्वीमा पनि स्वर्ग हुन्छ, र स्वर्ग छ, जहा सुख शान्ति हुन्छ, कलह हुँदैन, बैरभाव रहँदैन,’ उहाँले भन्नुभयो–‘त्यसैकालागि पुराणमा उल्लेख भए अनुसारका ४ र नेपालका ४ धाम गरि ८ धामको परिकल्पना गरिएको हो ।’
मोक्षधाम सेवा आश्रमले लिएका लक्ष्य अनुसारका कतिपय पूर्वाधार निर्माण भईसकेका छन् भने मुख्य ८ धाम रहने मन्दिर निर्माणकालागि करिव १ अर्व रुपैंया लाग्ने उहाँले जानकारी गराउनु भयो । तर त्यसैकालागि पैसा उठाउन साधनका रुपमा भने महायज्ञ नगरिएको उहाँले प्रष्ट पार्नुभयो ।
महायज्ञ आयोजक मुल समितिका संयोजक आनन्दभगत श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहमा तिलोत्तमा वडा नं. ६ का अध्यक्ष सुखदेव न्यौपाने, दुर्गा वैदिक परमानन्द सन्यास आश्रम नयाँमिलका अध्यक्ष खिमानन्द गौतम, आश्रमका सदस्य एवं महायज्ञ आयोजक समिति सम्मान उपसमितिका संयोजक कृष्णप्रसाद भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।
मोक्षधाम सेवा आश्रम सुरु भएदेखि नै प्रत्येक साउनमा श्रावणी मेला सञ्चालन गर्दै आएको छ । सोही अनुसार अहिलेपनि शिवपुराण ज्ञान महायज्ञ तथा श्रावणी महोत्सव सञ्चालन गरिएको हो । यहि साउन ३१ गते नागपञ्चमी सम्म सञ्चालन हुने शिवपुराण ज्ञान महायज्ञमा व्यास भागवत पं. नेत्रप्रसाद पराजुलीले शिवपुराणमा आधारित संगितमय कथा बाचन गर्नुहुने छ ।
२०६८ सालमा स्थापना गरिएको मोक्षधाममा हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, कुरुकुल आश्रम, १००८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृत कुण्ड, विशाल सतसंग हल निर्माण गरिसकिएको छ भने मोक्षधाम गुरुयोजना अनुसारको ८ धामको मन्दिर निर्माणधिन अवस्थामा रहेको अध्यक्ष पाठकले जानकारी गराउनु भयो ।
भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको आश्रमका कोषाध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।