
बुटवल, १३ साउन । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका संयोजक किशोरी महतोले मुलुकमा हिन्दु राज्य र राजसंस्थाको पुनस्र्थापना भएरै छाड्ने दाबी गर्नुभएको छ । हिन्दु अधिराज्य पुनस्र्थापना अभियानका क्रममा आइतबार बुटवल आएका महतोले आयोजित पत्रकार सम्मेलनमा हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि ४२ दलीय गठवन्धन बनेको जानकारी समेत दिनुभयो ।
गठवन्धनले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाको विषयमा जनताको मनोभावना बुझ्ने कार्य जारी राखेको बताउदै संयोजक महतोले त्यसका लागि ७ वटै प्रदेश र मुलुकका मुख्य मुख्य शहरहरुमा अभियान सञ्चालन गर्ने बताउनु भयो । निर्वाचन आयोगमा दर्ता भएका ४२ दलहरुको भेलाले मुलुकमा हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाका लागि आफु नेतृत्वको लोक कल्याणकारी राष्ट्रवादी राजावादी दलको संयोजकत्वमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धन गठन गरेको जानकारी गराउदै महतोले ढिलो–चांडो मधेसवादी दल र नेपाली काँग्रेस पनि हिन्दु राज्य पुनस्र्थापनाको एजेण्डामा आउने विश्वास व्यक्त गर्नुभयो ।
स्व.विपी कोइरालाले प्रतिपादन गरेको नीति अनुरुप अगाडी नबढेका कारण नेपाली काँग्रेस अहिलेको अवस्थामा आइपुगेको बताउंदै उहांले राष्ट्रियताको रक्षा र प्रजातन्त्रका लागि स्व.विपी कोइरालाले अवलम्वन गरेको नीति सही रहेको विचार व्यक्त गर्नुभयो । मधेसवादी दलको समेत समर्थन लिएर र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागि गराएर दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले नेपाली जनतालाई कर र महंगी बाहेक अरु केही दिन नसक्ने भन्दै महतोले कम्युनिष्ट सरकारमा सहभागि भएर उपेन्द्र यादवले मधेसी जनताको मर्म र भावना माथि ठेस पु¥याएको टिप्पणि गर्नुभयो ।
मधेसी जनताको मुक्तिका लागि भन्दै मधेसी जनतालाई आन्दोलनमा होमेका उपेन्द्र यादव सरकारमा गएर पार्टीलाई माओवादीकरण गरेको आरोप समेत उहांले लगाउनु भयो । तत्कालिन ७ राजनीतिक दल र दरवार बीच भएको सहमति विपरित गएर ७ दलले राजसंस्थालाई धोका दिएको बताउदै संयोजक महतोले निकट भविस्यमै ती सम्झौता सार्वजनिक हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै गठवन्धनका सह संयोजक शोभाराम थापाले वर्तमान गठवन्धन सरकार लामो समय टिक्न नसक्ने दाबी गर्नुभयो । अभियानकै क्रममा गठवन्धनले विगत एक हप्ता देखि रुपन्देहीका जनताको जनमत संकलन गर्दै आएको जानकारी गराउदै उहांले आगामी भदौ १ गते बुटवलमा बृहत जन प्रदर्शन सहित अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको जानकारी गराउनु भयो । गठवन्धनले शनिबार रुपन्देहीको भैरहवामा पनि अन्तरक्रिया कार्यक्रम गरी हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापनाबारे जनमत लिएको सो अवसरमा जानकारी दिइएको थियो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल रुपन्देहीको संयोजनमा भएको थियो ।