प्रदेशको नाम र स्थायी राजधानी मागगर्दै बैठक अवरुद्ध

1.3K

प्रदेशको नाम र स्थायी राजधानी मागगर्दै बैठक अवरुद्ध

बुटवल, १३ साउन । प्रदेश नं. ५ को प्रदेश सभाको आईतवारको दोस्रो अधिवेशनको २४ औं वैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध गरेपछि सोमवार सम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेसले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संबैधानिक व्यवस्था कार्यान्वयनको माग गर्दै प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक अवरुद्ध गरेको हो ।

प्रदेश सभाको बैठक सुरु हुनासाथ बोल्दै काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख फरक दलको हुनु्पर्ने संबैधानिक व्यवस्था कायार्यान्वयनको माग गर्नुभयो । सचेतक क्षेत्रीले प्रदेश सभाको बैठकमा विशेष समय लिएर संबिधानमा टेकेर वर्तमान सरकार अगाडी बढ्न नसकेको, प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न नसकेको र सभामुख र उपसभामुख संबिधानको मर्म अनुरुप हुनुपर्ने माग गर्दै यी विषयमा मुख्यमन्त्रीले सभामा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहांले संबैधानिक व्यवस्था कार्यान्वयनको माग र स्थायी राजधानी र प्रदेशको नामाकरणका वारेमा मुख्यमन्त्रीले सभालाई जवाफ नदिदासम्म बैठक चल्न नदिने बताएपछि प्रमुख प्रतिपक्षी दल काँग्रेसका सबै सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए । काँग्रेस सांसदहरु उठिरहेपछि सभामुख पुर्ण बहादुर घर्तीले आईतवाकोे बैठक स्थगित गर्नु भएको हो । आईतबार स्थगित भएको बैठक सोमवार दिउसो १ बजेका लागि वोलाईएको छ ।

आईतवारको बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक छलफलका लागि पेशहुने, छलफल हुने र मन्त्रीले जवाफ दिने कार्यसूची थियो । त्यस्तै प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथी छलफल हुने र सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची तय गरिएको थियो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा पनि छलफल हुने र पारित गर्ने कार्यसूची समेत आईतवारको प्रदेश सभाको बैठकमा राखिएको थियो ।