नयां शक्तिका विद्यार्थीद्वारा सरकारलाई ज्ञापन

1.3K

नयां शक्तिका विद्यार्थीद्वारा सरकारलाई ज्ञापन

बुटवल, १६ साउन । निजी विद्यालयहरुमा भइरहेको व्यापारिकरण अन्त्यको माग गर्दै नयां शक्ति विद्यार्थी यूनियनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ज्ञापनपत्र बुझाएको छ । नयां शक्ति विद्यार्थी यूनियनले बुधबार शिक्षा क्षेत्रसंग सम्बन्धित ६ बुंदे ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हक तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क भनेपनि निजी विद्यालयले विभिन्न नाममा अभिभावकको ढाड सेक्ने गरी मनपरी शुल्क असुलिरहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो । युनियनले सम्पुर्ण निजि विद्यालयमा भएको मनोमानी शुल्क बृद्धि फिर्ता गरी सरकारले नयां शुल्क निर्धारण गर्न माग गरिएको छ ।

निजी विद्यालयहरुले एसईईमा उत्कृष्ट नतिजाका लागि भन्दै साउनबाटै कक्षा १० का विद्यार्थीलाई छात्रावासमा बस्न दवाव दिएर आर्थिक शोषण गरिरहेकाले छात्रावासको व्यवस्था तुरुन्त रोक्न माग गरेको छ । विद्यालयमै भर्ना भएका विद्यार्थीलाई होस्टेलमा भर्ना गर्न मात्रै १० हजारसम्म भर्ना शुल्क र मासिक १८ देखि २५ हजारसम्म शुल्क तोकेर अभिभावकमाथि ब्रम्हलुट मच्चाइरहेकाले त्यसलाई रोक्न विभागीय मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको नयां शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव भुवन पौडेलले बताउनु भयो ।

निजी विद्यालयले ट्युसन र कोचिङका नाममा समेत विद्यार्थी र अभिभावकमाथि चर्को आर्थिक शोषण भइरहेकाले ट्युस र कोचिङ बन्द गरी विद्यालयमा नै गुणस्तरीय पठनपाठनको व्यवस्थाका लागि आवश्यक नीति निर्देशन बनाउन नयां शक्ति विद्यार्थी यूनियनले प्रदेश सरकारसंग माग गरेको छ । निजी विद्यालयले कापी, किताब, पोशाकको समेत व्यापार गर्ने गरेको, उपलब्ध नगराउने सेवामा समेत विभिन्न शिर्षकमा शुक असुल्ने गरिएको भन्दै कडा अनुगमन गरी कारवाहीको दायरामा ल्याउन युनियनले माग गरेको छ ।

यस्तै निजि विद्यालय र सामुदायिक विद्यालय शिक्षालाई समान गराउँदै प्रदेश भित्र समान शिक्षा निति लागु गर्न समेत युनियनले माग गरेको छ । आफ्ना मागहरु यथाशीघ्र पुरा नभए शान्तिपूर्ण आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् सरकार हुने नयां शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य प्रेम अर्यालले बताउनु भयो । ज्ञापनपत्र बुझेपछि मन्त्री बरालले विद्यार्थीले उठाएका यी विषय जायज र सान्दर्भिक रहेकाले मन्त्रालयले आवश्यक नीति तर्जुमा र व्यापारिकरण अन्त्यका लागि कदम चाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।