मोक्षधाममा पत्थरैपत्थरको कलात्मक मन्दिर बनाईँदै

1.3K

मोक्षधाममा पत्थरैपत्थरको कलात्मक मन्दिर बनाईँदै

बुटवल, २८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा विश्वकै नमुना मन्दिर निर्माण गरिँदै छ । पुराणमा उल्लेख भए अनुसार भारतका चार र नेपालका चार सहित आठ धाम निर्माण गरि अनेकौं देवीदेवताका विग्रह स्थापित १०८ फिट लम्बाई, १०८ फिट चौडाई तथा १०८ फिट उचाईको पत्थरै पत्थरको कलात्मक विश्वकै नमुना मन्दिर निर्माण गर्न लागिएको मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो ।

पृथ्वीमा स्वर्गको अभाष हुने परिकल्पना गरिएको धाममा निर्माण गरिने पत्थरजडित कलात्मक मन्दिरमा भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी, नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम तथा विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने उहाँले जानकारी गराउनु भयो । उहाँका अनुनसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो ।

उक्त मन्दिर निर्माण सम्पन्न गर्नकालागि करिव एक अर्व रुपैंया लाग्ने अनुमान गरिएको छ । त्यसकालागि करोडौं सनातम मार्गीहरुको दान दातव्यबाट निर्माण सम्पन्न गर्ने उद्देश्य लिईएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष नारायण वञ्जाडे बताउनु हुन्छ ।

पत्थरजडित उक्त मन्दिर निर्माणकालागि धाम सेवा आश्रमले ५ लाख भक्तजनबाट भूमिजुजन गराउने लक्ष्य लिईएको छ । मोक्षधाम सेवा आश्रमले आगामी माघ फागुनमा हुने महायज्ञमा उक्त मन्दिरको सिलान्यास गर्ने तयारी गरिएको कोषाध्यक्ष वञ्जाडे बताउनु हुन्छ ।
अनेकौं देवीदेवताहरुको विग्रह स्थापना गरि सनातन वैदिक धर्मावलम्बिहरुको पवित्र तिर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरि पूर्वाधार निर्माण सुरु गरिएको थियो ।

स्थापनाको छोटो समयमा नै मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्संग हल, द्वादश ज्योतिर्लिंग तथा १ हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, होवनकुण्ड, अमृत कुण्ड, बाल तथा बृद्धाश्रम, मुक्तिनाथ मन्दिर, सभा हल निर्माण गरिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै सरदर ६ करोड रुपैंया खर्च भएको छ भने धामको अहिले चल अचल समेत गरि ५० करोडको सम्पत्ति छ ।

मोक्षधामको गुरुयोजना अनुसार पत्थरजडित आठधामको मुख्य मन्दिर, आकर्षक बाटिका, व्यबस्थित सचिवालय, नवग्रह स्थापित ग्रहशान्ति मन्दिर लगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने धामका सदस्य तथा शिवपुराण ज्ञान महायज्ञ तथा श्रावणी मेला मुल आयोजक समितिका संयोजक आनन्दभगत श्रेष्ठ बताउनु हुन्छ ।

मोक्षधाम सेवा आश्रमले स्थापनासंगै नियमित रुपमा धार्मिक अनुष्ठान तथा सत्संग लगायतका धार्मिक कार्यक्रम गर्दै आएको छ । सोही अनुसार अहिले श्रावणी मेला तथा शिवपुराण ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । शिवपुराण ज्ञान महायज्ञमा कथा श्रवण गर्न तथा श्रावणी मेलामा शिवलिंगमा जलार्पण गर्नकालागि भक्तजनको घुईंचो लागेको छ । विशेषगरी सोमबार र शनिबार दैनिक सरदर २० हजार दर्शनार्थी जलार्पण तथा कथा श्रवणकालागि आउने गरेको सचिवालयका कृष्णप्रसाद पाण्डेले जानकारी गराउनु भयो ।