बुटवल, ६ भदौ । स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष पूर्व सचिव वालानन्द शर्माले स्थानीय तहले जनताको डे टु डे विजनेश सहि ढंगबाट गर्छन की गर्दैनन् त्यसैमा स्थानीय तहको भविष्य निर्धारण हुने बताउनु भएको छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताका दैनिकीमा सहजता प्रदान गर्न स्थानीय तहले काम गर्नुपर्ने र अभ्यासमा धेरै कुरा सिक्न बाँकी रहेको उहांले बताउनु भयो ।
रिपोर्टस क्वल प्रदेश पाँचले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘दिशा बिहिन भएका छैनौं, गन्तव्यमै छौं, तर धेरै कुरा सिक्न बाँकी छ ।’ अहिले स्थानीय तहमा सुविधा र करको बिषयमा धेरै कुरा बाहिर आएको उल्लेख गर्दै उहाँले १०÷१५ वर्षदेखि करको दर नबढेको र दायरा बिस्तार गर्ने कुरा स्वभाविक भएको बताउनु भयो । तर करको दर बृद्धि र दायरा बिस्तार जनतालाई चित्त बुझ्नेगरी हुनुपर्ने उहाँको भनाई छ । ‘जनतालाई चित्त बुझ्नेगरी भएका छैनन् भने जनताले त्यसलाई पक्कै बिरोध गर्नेछन् ।’
अहिले पनि सरकारले ७० प्रतिशत कर अप्रत्यक्ष रुपमा जनतासंग उठाउने बताउँदै उहाँले मुलुकलाई समृद्ध र पारदर्शी बनाउने हो भने प्रत्यक्ष करमा जोड दिनुपर्ने भनाई राख्नुभयो । जनताले प्रत्यक्ष रुपमा कर तिरेभने आफूले तिरेको कर सहि ठाउँमा सदुपयोग भयो या भएको छैन भन्ने विषयमा जनताले स्वयम जवाफ खोज्ने भएकाले पनि प्रत्यक्ष तिरेको कर पारदर्शी बनाउन सहज हुने उहाँको भनाई छ ।
उहाँले कतिपय अवस्थामा दोहोरो कर पनि हुन सक्ने भन्दै संविधानले नै दोहोरो करलाई हटाएकाले दोहोरो करमा सजग र सचेत हुन समेत आग्रह गर्नुभयो ।
उहाँले मुलुक संघीयतामा गएपछि अहिले तिन वटा तहले कानुन बनाउने, योजना बनाउने, विकास निर्माण गर्ने कार्य गर्दा अलमलमा परेको जस्तो देखिएको बताउँदै मुलुक संक्रमणको चक्र पुरा नभएको कारण जिम्मेवार नेताहरु मनपरी बोल्न नहुने बताउनु भयो । राज्यमा शक्ति बिकेन्द्रीकरण र बिकेन्द्रित शक्तिको प्रयोग गर्ने सरकारको रुपमा स्थानीय तहको पुनर्संरचना गरिएको बताउँदै उहाँले शक्तिलाई सहि रुपमा सदुपयोग गर्न समेत स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।