बुटवल, ६ भदौ । रुपन्देहीका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । सरकारले उपलब्ध गराउने सुनको परिमाणले वजारलाई धान्न नसकिने भन्दै रुपन्देही सुनचाँदी व्यवसायी संघले ३ दिने आन्दोलन घोषणा गरी पसल बन्द गरेर आन्दोलित भएका छन् । पहिलो चरणको आन्दोलन अन्तर्गत सुनचाँदी ब्यवसायीहरुले बुधवार देखि भदौ ८ गते तीन दिनसम्म रुपन्देहीका सबै सुनचाँदी पसल बन्द गर्ने भएका छन् ।
जिल्लामा ४ सय सुनचाँदी व्यवसायी रहेको र राज्यले प्रति हप्ता रुपन्देही जिल्लालाई ३ किलो सुन उपलब्ध गराउंदै आएको छ । तर जिल्लामा दैनिक ३ किलो सुनको माग रहेकोले सोको परिपूर्तिका लागि सरकार गम्भिर नभएकोले आन्दोलनमा जानु परेको संघले जनाएको छ ।
नेपालीहरुको चाडपर्व र विवाहको लगनका महिनामा सुनचाँदीका गहनाको माग बढिरहेको तर राज्यले उपलब्ध गराउने सुनको परिमाणले वजारको माग धान्न नसकेकोले राज्यले उपलब्ध गराउदै आएको सुनचाँदीको मात्रा बढाउन माग गर्दै आन्दोलित भएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एम. बी. विशवकर्मा र सचिव किशोर कुमार सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला, नगर तथा गाउँपालिका स्तरिय समितिहरुको संयुक्त भेला गरि वजारको मागलाई परिपूर्ति हुने गरि सुन राज्यले उपलब्ध नगराउंदासम्म पसल बन्द गर्ने निर्णय गरी आन्दोलनमा उत्रिएको जिल्ला अध्यक्ष एम.बी. विश्वकर्माले बताउनु भयो । राज्यले उपलब्ध गराएको सुनको परिमाणले वजारको माग पुरा गर्न नसकिने र वजारमा मूल्य पनि घटेको बर्तमान अवस्थामा व्यवसायीले सुन विक्री नगरेका हुन् की भन्ने आरोपवाट बच्न पनि आन्दोलनको विकल्प नभएको अध्यक्ष विश्वकर्माले बताउनु भयो ।