बुटवल, १४ भदौ । कृषिलाई व्यवसायिकरण गरी बजारसंग जोड्न विशेष ध्यान दिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भएको छ । प्रदेश सरकारको आवधिक योजना तर्जुमा २०७६।०७७–०८०।०८१ तर्जुमा सम्बन्धी पूर्व तयारी गोष्ठीमा विहिवार मुख्यमन्त्री पोखरेलले भन्नुभयो–“निर्वाहमुखी उत्पादन प्रणालीमा रहेको कृषिलाई व्यवसायिकरण गरी बजारसंग जोड्न ध्यान दिदैछौं ।
हाम्रो रणनीति भनेको कृषिको व्यवसायिक विकास गरी कृषिमा रहेका बहुसंख्यकलाई बाहिर निकाल्ने हो ।” उहाँले प्रदेश सरकारले पूर्णरुपमा काम गर्न थाल्दा नागरिकले प्रदेश सरकार शक्तिशाली भएको अनुभूति गर्ने बताउंदै दुई वर्षपछि नेपालको संघीयतामा प्रदेश नै जनताको आकांक्षा पूरा गर्ने प्रमुख सरकार भएको पुष्टि हुने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कण्डेलले केही प्रदेशले योजना आयोग नै नबनाएको जानकारी दिदैँ बनाएकाहरुले पनि भर्खर काम थाल्दै गरेको बताउनुभयो । उहाँले भन्नुभयो – “यो प्रदेश आवधिक योजना निर्माणका साथै अरु काममा धेरै अघि बढेको पाइयो । प्रदेश योजना आयोगलाई राष्ट्रिय योजना आयोग आवश्यक सहयोग गर्न तयार छ ।”
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले अवधारणापत्र प्रस्तुत गर्नुभएको थियोे । प्रमुख सचिव डा. तिर्थ ढकालले योजना दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा पूर्व तयारी गोष्ठी आयोजना गरेको बताउनु भयो ।