काँग्रेसको बिधान संशोधनकालागि सुझाव संकलन

1.3K

काँग्रेसको बिधान संशोधनकालागि सुझाव संकलन

भैरहवा, ९ असोज । बिधान संशोधनको तयारीमा रहेको नेपाली काँग्रेसले सुझाव संकलनको काम थालेको छ । मंगलबार भैरहवामा प्रदेश पाँच स्तरीय भेला आयोजना गरी काँग्रेसले बिधान संशोधन सम्बन्धि सुझाव संकलन गर्न सुरु गरेको हो । दुई दिनसम्म चल्ने भेलामा साविक लुम्बिनी अञ्चलका ६ जिल्ला, रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीका पार्टी सभापतिहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्ष्ोत्रीय सभापति, भातृ तथा सुभेक्षुक संस्थाका सभापतिहरु सहभागि छन् ।

सुझाव संकलनका लागि आएका केन्द्रिय नेताहरुले पार्टी भित्रको गुट उपगुट अन्त्य गरी काँग्रेसलाई बलियो बनाउन बिधान संशोधन गर्न लागिएको बताए । बाम गठबन्धनको सरकारले काँग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको मुल मर्मलाइ अझै आत्मसाथ गर्न नसकेको भन्दै संविधान र लोकतन्त्रको रक्षाकालागि काँग्रेसलाई बलियो बनाएर लैजानुपर्नेमा उनीहरुको जोड छ ।

मंगलबार भैरहवामा आयोजित बिधान संसोधन सुझाव संकलन भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस संसदिय दलका उपनेता बिजय कुमार गच्छदारले बर्तमान सरकार साम्यबादी शासन व्यवस्था तर्फ उन्मुख हुन खोजेको आरोप लगाउनु भयो । बाम नेतृत्वको सरकारले लोकतान्त्रिक संविधानको मुल मर्मलाइ आत्मसात गर्न नसकेको आरोप लगाउदै उहांले संविधान र संघीयता सफल बनाउन काँग्रेस बलियो बन्नुपर्ने र त्यसैकालागि बिधान संशोधन गर्न लागिएको बताउनु भयो ।

नेता गच्छदारले बाम गठबन्धनको सरकारले पाँच बर्षलाइ मात्रै नभइ दशक बढी लामो शासन संचालन गर्ने सपना देखेको भन्दै त्यसलाइ काँग्रेसले डटेर सामना गर्नुपर्ने बताउनु भयो । काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बर्तमान निर्वाचन पद्दतिकै कारण पार्टीमा गुट उपगुटले जरा गाडेको भन्दै एकल संक्रमणिय पद्दतिमा जानुपर्नेमा जोड दिनुभयो । गुट उपगुटको अन्त्य गरी पार्टीलाइ एक ढिक्का बनाउदै बलियो बनाउन बिधान संशोधन गर्न लागिएको भन्दै केन्द्रिय सदस्य समेत रहनु भएका नेता खाँणले काँग्रेसलाइ नेता प्रधान नभइ कार्यकर्ता प्रधान बनाउने गरी अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।

भेलामा केन्द्रिय बिधान संशोधन मस्यौदा समितिका सदस्य तथा प्रदेश ५ को सुझाव संकलन समितिका संयोजक केन्द्रिय सदस्य रमेश लेखक, अर्का केन्द्रिय सदस्य दिपक गिरी, अतहरकमाल मुसलमानले पार्टीलाइ बलियो बनाएर नेता कार्यकर्ता सबैलाइ न्याय हुनेगरी बिधान संशोधन गर्न सुझाव संकलन थालिएको बताउनु भयो ।

यस्तै काँग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, रुपन्देहीका पार्टी सभापति अब्दुल रज्जाक, अमरसिंह गुरुङ लगायतले बोल्दै लोकतान्त्रिक पद्दति र मुल्यमान्यताका आधारमा काँग्रेसलाइ बलियो बनाउंदै सबै नेता कार्यकर्ताको अपनत्व हुने गरी बिधान संशोधन गर्न सुझाव दिनुभयो । बुधबारसम्म चल्ने दुई दिने सुझाव संकलन तथा छलफल भेलामा सहभागि काँग्रेसका झण्डै साढे दुइ सय नेताहरुले बिधान संशोधन मस्यौदा समिति समक्ष सुझाव राख्ने छन् । सुझाव संकलनका लागि प्रदेशमा खटिएको टोलीले प्रदेशवाट संकलन भएको सुझाव केन्द्रिय समितिमा पेश गर्ने र सोही अनुरुप बिधान संशोधन गरिने काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताउनु भयो ।

एकतन्त्रीय जहानिया राणा शासनका विरुद्ध आन्दोलनमा उत्रेको काँग्रेस पार्टीको विधान यो नवौं पटक संशोधन गर्न लागिएको हो । २०१७ सालमा वनेको पार्टीको आधिकारिक विधान ८ पटक संशोधन भएको छ । संशोधित विधानमा ६ वटा परिच्छेद र ५२ वटा धारा रहेका छन् ।
उक्त धाराहरुको सवालमा सहभागिहरु ५ समूहमा विभाजन भएर सुझाव संकलन गरिदैछ । समूह क को सहजिकरण कपिलवस्तु जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यले गर्नुभएको छ ।

यसैगरी समूह ख को सहजीकरण पाल्पा सभापति विर बहादुर राना, समूह ग को सहजिकरण गल्मीका सभापति भुवन श्रेष्ठ, समूह घ को सहजिकरण अर्घाखाँचीका सभापति विष्णु खनाल मुस्कानले र समूह ङ को सहजिकरण नवलपरासीका सभापति अर्जुन पोख्रेलले गर्नुभएको छ । सहभागीहरुले सवै पदमा निर्वाचन हुनुपर्ने र पदाधिकारीको संख्याका आधारमा १० प्रतिशतमात्रै सदस्यहरु मनोनित गर्नुपर्ने धारणा राखेका छन् ।