शाहनीको अभिव्यक्तिमा भूपूहरुको आपत्ति: पेन्सन क्याम्पको बिरोध नगर्न आग्रह

1.3K

शाहनीको अभिव्यक्तिमा भूपूहरुको आपत्ति: पेन्सन क्याम्पको बिरोध नगर्न आग्रह

 

बुटवल, ११ असोज । बाम बुद्धिजिबी दिल शाहनीले भारतीय भूतपूर्व सैनिकहरुको भावनामा ठेस पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै भूपूहरुले आपत्ति जनाएका छन् । भारतीय पेन्सनरकालागि बुटवलमा बन्दै गरेको स्थायी पेन्सन क्याम्पका बिषयमा देखिएको असमझदारी हल गर्नकालागि बुटवल उपमहानगरपालिकाले यहि असोज ६ गते सर्वपक्षिय भेला आयोजना गरेको थियो । उक्त भेलामा बाम बुद्धिजिबी शाहनीले उक्त पेन्सन क्याम्पको बिरोध गर्नुका साथै भूपूरुको भावनामा ठेस पुग्नेगरी अभिव्यक्ति दिएको भन्दै त्यस्ता अभिव्यक्ति नदिन समेत आग्रह गरेका छन् ।

संयुक्त पुर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले बिहिबार एक बिज्ञप्ती जारी गरी उक्त अभिव्यक्ति प्रति आपत्ति जनाउनुका साथै आईन्दा यस्ता अभिव्यक्ति नदिन समेत चेतावनी दिएको छ । संयुक्त पुर्व सैनिक एवं प्रहरी कल्याणकारी महसंघ नेपालका अध्यक्ष किशनबहादुर थापा र महासचिव कुलबहादुर केसीद्वारा जरी बिज्ञप्तीमा यस्ता अभिव्यक्ति आउन नरोकिने र पेन्सन क्याम्प निर्माण योजनामा केही अवरुद्ध भएमा भू.पू.हरु सडकमा उत्रिन बाध्य हुने उल्लेख गरिएको छ ।

भूपूहरु तथा उनका परिवारको कल्याणकारी कामका लागि लामो समयको प्रयासपछि २०५० सालमा बुटवलको फूलबारीमा भारतीय भूपूको पेन्सन वितरणकालागि अस्थायी क्याम्प सञ्चालनमा आएको थियो भने २०७३ फागुन १७ गतेको मन्त्रीपरिषदको बैठकले स्थायी पेन्सन क्याम्प बनाउने निर्णय गरि २०७४ भदौमा शिलान्यान समेत गरिसकिएको छ ।

‘हामी भूपू पनि यहि देशका नागरिक हौं, हामीलाई आफ्नै देशमा पेन्सन थाप्ने सुविधा दिन्छु भन्दा बिरोध गर्नुपर्ने कारण के हो ?’ महासंघका अध्यक्ष थापाले भन्नुभयो–‘भारतीय भूपू सैनिकलाई भारतीय नागरिकै रुपमा हेरिनु हुँदैन ।’भारत सरकारले भारतीय भूपू सैनिकको सुविधाकालागि अहिले काठमाण्डौ, पोखरा र धरानमा समेत स्थायी पेन्सन क्याम्प सञ्चालन गरेको छ ।

ती ठाँउमा क्याम्प सञ्चालन हुँदा राष्ट्रियता र राष्ट्रको सुरक्षामा कुनै फरक नपर्ने र बुटवलमा सञ्चालन गर्दा नेपालको अस्थित्व नै मेटिन्छ भन्नु गलत भएको विज्ञप्तीमा उल्लेख छ । स्थायी पेन्सन क्याम्पस सञ्चालन हुँदा त्यस क्षेत्रको बिकासमा समेत प्रत्यक्ष फाईदा पुग्ने भएकाले त्यसको बिरोध गर्नु औचित्य नभएको महासंघका महासविच कुलबहादुर केसी बताउनु हुन्छ ।