समृद्धिको अभियानमा सरकार असफल : चन्द्र भण्डारी

1.3K

समृद्धिको अभियानमा सरकार असफल : चन्द्र भण्डारी

बुटवल, ९ कात्तिक ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिलेका नेताबाट देशको समृद्धि सम्भव नभएको बताउँदै नेपालका हरेक पार्टीमा नँया ओपन ब्रेनको आबश्यकता रहेको बताउनु भएको छ । उहाँले अहिले परिवार केन्द्रित राजनीति हावी भएको भन्दै परिवार केन्द्रित राजनीतिले देश बन्न नसक्ने भएकाले खुला दिमागको नयाँ पुस्ता आउनु पर्ने बताउनु भएको हो ।

रिपोर्टर्स क्लव प्रदेश पाँच बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मुलुकको परिवर्तनकालागि जनताले दिएको बलिदानीलाई दलका ठूला नेताहरुले अवमुल्यन गरेको आरोप लगाउनु भयो । आफ्नै पार्टीमा पनि गुटउपगुटको बिकास भएको र नेतृत्व नै गतिलो नभएकाले पार्टी कमजोर भएको औंल्याउँदै सरकारको प्रतिपक्षि दल नै ससक्त नभएका कारण सरकार मनोमानी ढंगले अंगाडी बढिरहेको उल्लेख गर्नुभयो ।

सिमान्तकृत बर्ग,पिछडिएको बर्गभित्र बाहुन क्षेत्री पनि निकै रहको बताउँदै उहाँले जातीय आधारमा नभई वर्गीय आधारमा मुलुकलाई अंगाडी बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । फरक प्रसंगमा उहाँले अहिलेको सरकार सामाजिक,आर्थिक,राजनीतिक रुपमा कमजोर र असफल भएको बताउनु भयो । सरकार पछिल्लो समयमा भष्ट्राचारमा डुबेको आरोप लगाउँदै त्यसैका कारण निर्मला हत्या काण्ड,वाईट वडी बिमान र सुन कान्ड लगायतका विषयमा सरकार मौन बस्नु परेको दावी गर्नुभयो ।

महंगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको भन्दै नेता भण्डारीले जनताले कर तिरेको महसुस गर्ने गरी सेवा सुविधा दिन सरकारले नसकेको भनाई राख्नुभयो ।विगतका दिनमा प्रधानमन्त्री केपि ओलीले पानी जहाज,घर घरमा ग्यासको कुरा गरेकोमा अहिले आएर घर घर मा विद्युतीय चुलाको कुरा गर्नु जायज नभएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो–‘सपना देख्नु राम्रो हो,तर जथाभाबि कुरा गरेर समय बिताउने बेला होईन ।’बिगतमा आफुले अखण्ड लुम्बिनीको पक्षमा आन्दोलनको नेतृत्व गरेकाले प्रदेश ५ जोगिएको स्मरण गर्दै जनताको अनुकुलता हेरेर प्रदेशको राजधानी तोक्नुपर्ने उहाँको धारणा छ ।