‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

1.3K

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु

बुटवल, कात्तिक । शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आईतबारदेखि देशभर एकैसाथ सुरु गरिएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नारासाथ स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुरु गरिएको हो ।

नेपाल प्रहरीले केन्द्रदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माण गरिने र अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रदेश पाँच प्रहरी कार्यालय तुलसीपुर दाङ्ले आईतबार बुटवलमा आयोजना गरेको शुभारम्भ कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले जानकारी गराउनु भयो ।

उक्त अभियानको पाँच नम्बर प्रदेशमा प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै मन्त्री बरालले समाजमा हुने अपराध नियन्त्रणको काम प्रहरी प्रशासनको भएपनि अपराध नियन्त्रणमा सहयोग गर्नु आम नागरिकको दायित्व भएको बताउनु भयो ।

प्रहरीले सुरु गरेको नयाँ अभियानलाई दिगो बनाउनकालागि स्थानीय तहलाई प्रमुख साझेदार बनाईएको छ । उक्त अभियानमा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था र बिद्यालयको सहभागिता रहने गरी साझेदारी समिति निर्माण गरिने छ । समाजमा बालबालिका र युवा अपराधको उच्च जोखिममा रहेकाले बिद्यालय केन्द्रित कार्यक्रमलाई प्रमुख प्राथमिकता दिईएको छ ।

प्रहरीले प्रस्तुत गरेको तथ्याङ्कमा ४० प्रतिशत जनसङ्ख्या विद्यालय क्षेत्रसँग सम्बद्ध छ । अपराधमा १६ देखि २५ वर्षका बढी संलग्न छन् । त्यस्तै १८ वर्षमुनिका बालबालिका बलात्कारको शिकार भएका छन् । त्यसैले साझेदारी कर्याक्रम विद्यालयसँग जोड्न लागिएको प्रहरी नायव महानिरिक्षक अधिकारीले बताउनु भयो ।

सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, प्राविधिक सुरक्षा उपकरणको स्थापना र बिस्तार, सामुदायिक गस्ति र प्रभावकारी प्रहरी परिचालन, फरार अपराधि पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदान–प्रदान, तथ्यांक संकलन तथा अध्यावधिक, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण साझेदारी कार्यक्रमको कार्यक्षेत्र हुन् ।

प्रहरीले एकैसाथ देशव्यापी रुपमा सुरु गरेको यो अभियान अन्तरगत प्रहरी प्रधान कार्यालयले केन्द्रमा संयोजन र व्यवस्थापनको काम गर्नेछ । प्रादेशिक तहमा प्रदेश प्रहरी कार्यालयले समन्वय गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गठन हुनेछ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा. मानबहादुर बिके, बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्य, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले जनचेतना अभिबृद्धि गरि अपराध न्यूनिकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।