बुटवल, १ मंसिर । बहिरी देवीसँग चिच्याएर वर माग्ने पाल्पाको महत्वपूर्ण धार्मिकस्थल सत्यवतीमा यही बुधवार देखि धार्मिक मेला लाग्ने भएको छ । मंसिर ५ देखि ७ गतेसम्म ३ दिन धार्मिक मेला संचालन हुने छ । तिनाउ गाउँपालिका – ४, सत्यवतीमा रहेको ताल तथा मन्दिर परिसरमा यस बर्ष पनि कात्तिक पूर्णिमाको अवसरमा मेला लाग्ने भएको हो ।
सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी बिगतका मेलाभन्दा परिस्कृत रुपमा आयोजना गर्न लागेको यसपटकको महामेलामा सहभागि हुन यस क्षेत्रबासीमा अनुरोध गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनबीर गाहाले मेलालाई व्यवस्थित बनाउन बिभिन्न समिति गठन गरीएको र सहयोगका लागि समेत स्थानीय गाउँपालिका र संघ संस्थाहरुलाई आग्रह गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा दोभान गाउँपालिका वडानम्वर ४ का अध्यक्ष दान बहादुर गाहा मगर, ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डे, दोभान एकिकृत पर्यटन बिकास परिषदका अध्यक्ष दल बहादुर गुरुङ्ग, मन्दिर व्यवस्थापन समितिका सचिव लाल बहादुर दर्लामी, कृष्ण रेग्मी लगायतले ताल तथा मन्दिर संरक्षणका लागि भएका प्रयासहरुका सम्वन्धमा जानकारी गराउंदै सत्यवतीलाई धार्मिकसंगै अव पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने बताउनु भएको थियो ।
सत्यवती बज्यै बहिरी छन् भन्ने विश्वासले मन्दिर जाने भक्तजनले ताल र मन्दिरको परिक्रमा गर्दै जोडले चिच्याएर वर माग्ने प्रचलन छ । मन्दिर पुग्नका लागि सिद्धार्थ राजमार्गबाट झण्डै दुई घण्टा पैदल हिडेर पुगिन्छ ।
चतुर्दशीको दिन तालमा साल तथा बाँसको लिङ्गो गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर पूजा गर्ने र चिच्याएर वर मागेमा मनोकांक्षा पूरा हुने विश्वास रहि आएकोले दर्शनार्थीहरुको हरेक वर्ष भिड लाग्ने गर्दछ । यो वर्ष देखि सो क्षेत्रमा ५ वटा घरमा होमस्टे समेत संचालन गरिएको छ । २० जनालाई व्यवस्थापन गर्न सकिने गरि होमस्टे संचालनमा ल्याईएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।