बुटवल, मंसिर । नेपाल सरकारले हालै लागु गरेको श्रम ऐनमा विदेशी कामदारलाई उद्योगमा काम गराउँदा उद्योगले सरकारलाई तिर्नुपर्ने कामदार शुल्क अव्यबहारिक भएकोले उक्त ऐन संशोधन गर्न ईट्टा उद्योगीले सरकारसंग माग गरेका छन् ।
भारतीय नागरिकलाई नेपाली उद्योगमा काम गराउँदा सरकारलाई तिर्नुपर्ने लेवर ट्याक्स ईट्टा उद्योगका लागि अव्यबहारिक भएको भन्दै उनीहरुले उक्त ऐन तत्काल पुनर्बिचार गर्न सरकारसंग माग गरेका हुन् ।
लुम्बिनी ईट्टा उद्योग व्यबसायी संघ रुपन्देहीको शनिबार भैरहवामा भएको २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्ने उद्योगी व्यबसायीले सरकारलाई उद्योग व्यबसाय मैत्री नीति अवलम्बन गर्न आग्रह गर्दै उक्त ऐन तत्काल संशोधन गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले विदेशी कामदार निरुत्साहित गर्न र नेपाली युवालाई स्वदेशमै रोजगारी प्रदान गर्नकालागि उक्त ऐन आएको हुन सक्ने बताउँदै यसलाई सकारात्मक रुपमा लिन आग्रह गर्नुभयो । उहाँले मान्छेलाई अड्काउन, समस्यामा पार्न र दुःख दिने नियतले कानुन नबन्ने बताउँदै बनेका कानुन एकातिर पन्छ्याएर व्यबसायीलाई दुःख दिने तथा दोहन गर्ने प्रबृत्ति पुरानै भएकाले यो प्रबृत्तिलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले उद्योग व्यबसायसञ्चालनमा कच्चा पदार्थको रोयल्टी र कमाएको पैसाबाट कर तिर्ने बाहेक अन्य कुनै पनि दोहोरो करको नीति प्रदेश सरकारले नलिने प्रष्ट पार्नुभयो । मन्त्री गिरीले केन्द्रले गर्नुपर्ने कुराहरु प्रदेशमा हेन्डओभर नगर्दा संघीयता कार्यान्वयनमा समस्या भएपनि संघीयता कार्यान्वयनको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल ईट्टा उद्योग व्यबसाय महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले व्यबसायीलाई च्याप्नेगरी श्रम ऐन ल्याएको र श्रम ऐन आएपछि व्यबसायीलाई वार्तामा बोलाउनुको कुनै अर्थ नभएको बताउनु भयो । उहाँले सरकारले अहिले आएर वार्तामा बोलाएको बताउँदै ऐन ल्याउनु अगाडी नै राय सुझाव लिएको भए राम्रो हुने भनाई राख्दै उक्त ऐनमा उल्लेख भए अनुसार विदेशी कामदार ल्याउँदा तिर्नुपर्ने लेवर ट्याक्स तिर्न कुनै पनि उद्योगीले नसक्ने उल्लेख गर्नुभयो ।
सरकारले हालै ल्याएको श्रम ऐन अनुसार विदेशी कामदार ल्याएर काम गराउँदा ६ महिना भन्दा कम समय काम गर्ने कामदारको जनही १५ हजार र ६ महिना भन्दा बढी काम गर्ने कामदारको २० हजार रुपैंया लेवर ट्याक्स तिर्नुपर्ने हुन्छ ।
एउटा ईट्टा उद्योगमा सरदर २ सय जना कामदार भारतबाट आउने र त्यसवापतको लेवर ट्याक्स कुनै पनि उद्योगले तिर्न नसक्ने लुम्बिनी ईट्टा उद्योग व्यबसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार शंकरबहादुर चन्द, प्रदेश पाँचका प्रदेश सभा सदस्यहरु वसिउद्धिन खान, सन्तोष पाण्डे, महासंघका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका मेयर हरि अधिकारी, लुम्बिनी सांस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरी, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारी लगायतले सरकारले उद्योग व्यबसाय मैत्री नीति लिन नसकेको बताउनु भएको थियो ।
त्यस्तै उद्योगीहरुले सरकारले उद्योग व्यबसायलाई कसरी प्रवद्र्धन गर्ने भन्दा पनि कसरी राजश्व उठाउने भन्ने चिन्तन मात्रै गरिरहेको बताएका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव अजय गुप्ताले गर्नुभएको थियो