कार्यालय सार्ने निर्णयको स्थानीयद्वारा बिरोध

1.3K

कार्यालय सार्ने निर्णयको स्थानीयद्वारा बिरोध

बुटवल, ९ मंसिर । बुटवलमा रहेका यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र र यातायात भौतिक पूर्वाधार निर्देशनालय प्रदेश सरकारले तिलोत्तमा नगरपालिकामा सार्ने निर्णय गरेको छ । प्रदेश नम्बर पांचको मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका तिनवटै कार्यालय तिलोत्तमा नगरपालिकाको मणिग्राममा सार्ने निर्णय गरेको हो । बैठकले कार्यालय सार्ने निर्णय गरेसंगै गत सोमबार तिनवटै कार्यालयलाई सार्नका लागि परिपत्र गरिएको थियो ।

प्रदेश सरकारको निर्णय अनुसार कार्यालय सार्नका लागि तयारी गरिएको यातायात व्यवस्था कार्यालय सवारीका निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी गराउनु भयो । तर प्रदेश नम्बर पांचको मन्त्रीस्तरीय बैठकले कार्यालयहरु सार्ने निर्णयको स्थानीयले बिरोध गरेका छन् ।

बुटवलका स्थानीय सर्वसाधारण जनता र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिहरुले कार्यालय सार्ने निर्णयको बिरोध गरेका हुन् । रुपन्देहीबाहेक गुल्मी, अर्घाखांची, कपिलवस्तु, पाल्पा, नवलपरासी लगायतका जिल्लाबाट आउने सेवाग्राहीलाई पायक पर्ने ठाउंबाट कार्यालयहरु अपायक पर्ने ठाउंमा सार्नै नहुने स्थानीयले बताएका छन् ।

कार्यालयहरु भएको स्थान सबैका लागि पायक पर्ने र शान्ति सुरक्षाका साथै सबै प्रकारले सबैलाई सुविधा भएकाले सार्न नहुने स्थानीयको तर्क छ । जनप्रतिनिधिहरुलाई कूनैपनि जानकारी नगराई कार्यालयहरु सार्न लागिएकाले त्यसको बिरोध गर्नुपरेको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ की कार्यवहाक अध्यक्ष गोमा ज्ञवालीले बताउनुभयो । स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी नगराई कार्यालयहरु सार्ने निर्णय जनताको हित विपरित भएको उहांले बताउनु भयो ।

सहज रुपले सञ्चालन भैरहेका कार्यालयहरु बुटवलबाट सार्न नहुने र सार्नैपर्ने भए यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्रको लागि बुटवलको वेलवासमा छुट्टाईएको जग्गामा सार्नुपर्ने स्थानीय टिकाराम घिमिरेले बताउनुभयो । सेवाग्राहीको हित विपरित कार्यालय सार्न प्रयास गरिए आन्दोलनमा उत्रिने जनप्रतिनिधि दलबहादुर थापा र स्थानीय पुनम रजालीले बताउनु भयो ।

प्रदेश सरकारको मन्त्रीस्तरीय बैठकले कार्यालयहरु सार्ने निर्णय अनुसार आईतबार भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव, ईन्जिनियर र यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डे सहितको टोलीले स्थान अवलोकन गरेको छ ।

तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित राममणी क्याम्पसको विज्ञान भवनमा कार्यालय सार्ने तयारी भैसकेको यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी गराउनु भयो । प्रदेस सरकारको मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका कार्यालयहरु तिलोत्तमामा सार्ने निर्णय कूनैपनि हालतमा स्कीकार्य नहुने स्थानीयको भनाई छ ।