बुटवल, १५ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ओली सरकार पुर्ण रुपमा असफल भएको दावी गर्नुभएको छ । रुपन्देहीको गजेडीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता खाँणले लोकतन्त्रको मुल आधारसिला जनतालाई अधिकार सम्पन्न बनउनु भएपनि बर्तमान सरकारले जनताका अधिकार रक्षा गर्न नसक्दा जनविश्वास गुमाउदै गएको बताउनु भएको हो ।
नेपाली काँग्रेस तिलोत्तमा १६ ले गरेको प्रशिणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता खाँणले दैनिक सरदर ६ जना महिला तथा बालबालिका यौन हिंसामा परिरहदा सरकारले त्यसलाई रोक्न र अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै जनतालाई सुरक्षाको प्रत्याभुती दिलाउन नसक्ने सरकार खोक्रा नारा र भाषणमा सिमित भएको आरोप लगाउनु भयो । ‘दिनदाहाडै बालबालिका तथा व्यक्ति हत्याका घटना भइरहेका छन् । महिला तथा बालिका बलात्कृत भइरहदा अपराधी समातीदैनन ।’ अपराधीलाइ कारबाही र पिडीतलाई न्याय नै दिलाउन नसक्ने पनि सरकार हुन्छ ?’ नेता खाँणले भन्नुभयो ।
सरकारले संघीयता र लोकतन्त्रको खिलाफमा काम गरीरहेको भन्दै उहाँले स्थानीय तह र प्रदेश सरकारकालाई अधिकार हस्तान्तरण नगरेर निरकुंश बन्दै गएको आरोप पनि लगाउनु भयो । शिक्षक, किसान, प्राध्यापक सबै क्षेत्र आफना अधिकारकालागि सडकमा ओर्लिनु पर्ने र जनता न्यायबाट बिमुख हुनुपर्ने अवस्था आउनुनै सरकारको निरंकुशता र असफलताको प्रमाण भएको उल्लेख गर्नुभयो । काँग्रेस कमजोर हुँदा संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता र जनता कमजोर हुँने भन्दै नेता खाँणले पार्टीलाइ बलियो बनाएर अगाडी बढ्ने अभियानमा लागेकाले निराश नहुँन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।