बलात्कृत बालिकाको उपचार नगरपालिकाले गर्ने

1.3K

बलात्कृत बालिकाको उपचार नगरपालिकाले गर्ने

बुटवल, २२ मंसिर । रुपन्देहीको देवदहमा शुक्रबार बलात्कृत भएकी बालिकाको उपचारमा लाग्ने सम्पूर्ण रकम देवदह नगरपालिकाले व्यहोर्ने भएको छ । बालिकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ । शनिबार देवदहका नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ् अस्पतालमा पुगी बालिकाको स्थास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उनको उपचारमा लाग्ने सम्पूर्ण रकम स्थानीय सरकारले व्यहोर्ने बालिकाका आफन्तलाई जानकारी गराउनु भएको हो ।

नगरप्रमुख केसीले शनिबारनै एक विज्ञप्ती प्रकासित गरि नावालक बालिकामाथि भएको बलात्कार जघन्य अपराध भएको बताउँदै यस्तो जघन्य अपराधमा संलग्न जो सुकै भएपनि हदैसम्मको कारवाही गर्न प्रहरी प्रशासन समक्ष माग गर्नुभयो । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन भईरहँदा अबोध बालिकामाथि भएको यो अपराधलाई कुनैपनि हालतमा छुट हुन दिन नहुने बताउनु भयो ।

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ६ जनामध्ये प्रहरीले रुपन्देहीको देवदह ७, का १८ वर्षीय जीवन खत्रीमाथि अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका अन्य पाँच जनालाई छोडिने इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ । पक्राउ परेका अन्य पाँच जना युवाहरुको बयानका आधारमा भाग्दै गरेका जीवन खत्रीलाई नवलपरासीको दाउन्नेबाट प्रहरीले पक्राउ गरेको थियो ।

पीडित बालिकाका आफन्तले खत्रीविरुद्धमा किटानी जाहेरी दिएको र पक्राउ परेका अन्य पाँच जनाले पनि खत्रीले नै बालिकाको बलात्कार गरेको भन्ने बयान दिएका कारण खत्रीमाथिको अनुसन्धानलाई अगाडि बढाइने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताउनुभयो ।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएको बेला बलात्कारमा परेको आफन्तले जनाएका छन् । घरमा रहेकी ती बालिकालाई जीवनले चाउचाउ दिन्छु भनी फकाएर अलि पर लगेर रुमालले मुख थुनिदिएर बलात्कार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनास्थल र बालिकाको घर १०० मिटरको दूरीमा रहेको छ ।

बालिका हजुरबुवा तथा हजुरआमासंग घरमा थिइन् । हजुरबुवा घरबाहिर कतै काममा निस्केको र हजुरआमासंग घरमा रहेकी बालिकालाई हजुरबुवा आउँदा नदेखेपछि हजुरबुवा र हजुरआमाले खोज्दै जाँदा घरबाट केही पर ती बालिकालाई घाइते अवस्थामा भेटाएको र स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

बालिका फेला पर्दा उनको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखिएपछि उपचारको लागि लुुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याइएको थियो । बालिका अहिले बोल्न सक्ने अवस्थामा रहेको र ती बालिकाले पनि जीवनले नै बलात्कार गरेको बताएकी छन् ।