बुटवल, २३ मंसिर । मुलुकमा बढिरहेको भ्रष्टाचारलाई अन्त्य गर्न माग गर्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा समाजले इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपसचिब सुशिल बैद्यमार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको हो ।
इलाका प्रशासन कार्यालय बुटवलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचार निर्मूल पार्न भ्रष्ट शैली त्याग्नुपर्ने बताएका छन् । उनीहरुले भ्रष्टहरुलाइ नै राज्यले सम्मान गर्ने, नेता, मन्त्री बनाउने पद्धतिको अन्त्य नभएसम्म भ्रष्टाचारीको मनोवल नगिर्ने धारणा राखेका थिए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ट उपसभापति गोबिन्द खनालले परिवारका सदस्यहरुकै ठूला ठूला चाहना हुदा मानिसले पैसा आर्जन गर्न गलत बाटो समातिरहेकोले यस्लाइ घरभित्रैबाट रोक्नुपर्ने बताउनु भयो । सो अवसरमा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाइ, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष डिपी खनाल, सचिब अर्जुन ज्ञवाली लगायतले बोल्दै भ्रष्टाचार समाजको रोग भएकाले जनताको विश्वास जितिरहेका मिडियाले यस्लाइ रोक्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भयो ।
ज्ञापनपत्र बुझ्दै प्रशासनका प्रमुख उपसचिब सुशिल बैद्यले भ्रष्टाचार नियन्त्रणका लागि राज्य संयन्त्र सक्रिय भएर लागेको भन्दै ज्ञापनपत्र प्रधानमन्त्रीलाइ पठाइदिने बताउनु भयो । कार्यक्रम संयोजक तथा सहसचिब कपिल ज्ञवालीले सरकारले एकातिर समृद्धिको नारा जोडतोडले बुलन्द्ध गरिरहेको र अर्को तर्फ तथ्यांक हेर्दा नेपाल भ्रष्टाचार गर्ने सूचीमा अगाडी रहेको भन्दै सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र पठाइएको जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नेपालमा भ्रष्टाचारका नयाँ नयाँ स्वरुप देखिएको प्रति र सिंगो राजनीति भ्रष्टाचारमा डुब्न थालेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ लेखिएको छ ।