प्रदेश सभाको भुमिका कमजोर भयो : सांसदहरु

1.3K

प्रदेश सभाको भुमिका कमजोर भयो : सांसदहरु

बुटवल, २६ मंसिर । प्रदेश पाँचको तेस्रो अधिवेशनको बुधबार भएको पहिलो बैठकमा दुई विधेयक पेस भएका छन् । दोस्रो अधिवेशन सकिएको ४ महिनापछि भएको तेस्रो अधिवेशनको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ संघ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको छ ।

बैठकमा प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र र दोश्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी पत्रहरु सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनु भएको थियो ।

प्रदेश पाँचको प्रदेश सभा भवनमा सुरु भएको तेस्रो अधिवेशनको पहिलो बैठकमा सांसदहरुले प्रदेश सभाको सशक्त भूमिका लागि अन्तरप्रदेश परिषद बैठकले गरेका निर्णयहरु कार्यन्वयनमा जोड दिनु भएको थियो । प्रदेश सभाको भूमिका कमजोर हुँदै गएको जनताबाट गुनासो आइरहेको भन्दै सांसदहरुले संविधानले दिएको अधिकार क्षेत्र भित्र रही प्रदेश सदस्यहरुलाई सकृय बनाउनुपर्ने जोड दिनुभएको हो ।

बैठकमा बोल्दै नेकपा संसदीय दलका नेता भूमिश्वर ढकालले तेस्रो अधिवेशनमा सत्ता पक्ष र प्रतिपक्ष नभई विषयमा केन्द्रित रहेर छलफल र त्यसको निष्कर्ष निकाल्नु पर्नेमा जोड दिनुभयो । विगतका अधिवेशनहरुमा विधेयकमा आवस्यक छलफल हुन नसकेको भन्दै व्यापक छलफलबाट ठोस निष्कर्षमा पुग्न तेस्रो अधिवेशन सफल हुनेमा उहाँले आशा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले कर्मचारी प्रशासन र प्रहरी प्रशासन केन्द्रले सञ्चालन गर्ने र विकासका काम स्थानीय तहले संचालन गरेपछि प्रदेशसभाको औचित्यमा प्रश्न उठेको बताउनुभयो । उहाँले सरकारको दिन प्रतिदिन बढ्दो घाटा बजेट पूर्ति कसरी गर्ने प्रश्न गर्नुभयो । सरकार करवृद्धिमा लागेको भन्दै घाटा बजेट पूर्तिका लागि कर बढाउने त हाइन भन्दै आशंका व्यक्त गर्दै सरकारलाई काम गर्ने वातावरण बनाउन वित्त आयोग तत्काल बनाउन समेत सुझाव दिनुभयो ।

प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले बजेट विनियोजन हुने र प्रक्रियामा गएर टुंगिने गरेको भन्दै बजेटलाई परिणम मुखी बनाउनु पर्ने बताउनुभयो । उहाँले सरकार र संसद बिच समन्वयत्मक सम्वन्ध बन्न नसकेको उल्लेख गर्दै सदन र सरकारकावीच अन्तर सम्वन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काले केन्द्र सरकारले मैलिक हक सम्वन्धमा कानुन वानाउने क्रममा प्रदेशसंग समन्वय गर्नु पर्नेमा जोड दिनुभयो । सांसद गिता थापाले प्रदेश सभाले महिला मैत्री कानून निमार्ण गरी महिला हिंसा न्यूनीकरणका लागि ठोस कदम चाल्नु पर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले प्रदेशको राजधानी तथा नामाकरणका लागि विज्ञहरुको टोली गठन गरी समयमा नै टुंग्याउनुपर्ने बताउनुभयो ।

तेस्रो अधिवेशनको पहिलो दिनको बैठकमा संघीय समाजवादी फोरमका सन्तोषकुमार पान्डे, नेकपाका सांसद इन्द्रप्रसाद खरेल, रामजी घिमिरे, सरस्वती गौतम, कुलप्रसाद पोख्रेल, विष्णुप्रसाद पन्थी, राष्ट्रय जनता पार्टी नेपालका सांसद कल्पना पान्डे, भूवनेश्वर चौधरी, भगवतीदेवी भन्डारी, हरिप्रसाद रिजाल, तुल्सी चौधरी लगाएतले धारणा राख्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक आगामी पुस ८ गते बस्नेछ ।