बुटवल, ९ पुस । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरुलाई सरकारले बन्दुकले दमन गर्न खोजे प्रतिकार पनि बन्दुकबाटै हुने चेतावनी दिनुभएको छ । उहाँले नेपाली जनताको सरल जनजिविकाकालागि आफूहरुले राजनीतिक गरेको बताउँदै जनताकालागि भएको राजनीतिमा दमन शैह्य नहुने बताउनु भयो ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टी प्रवक्ता प्रकाण्डले लामो क्रान्ति र जनआन्दोलनबाट जनतामा उत्पन्न भएको आशा विस्तारै निराशामा परिणत हुँदै गएको बताउँदै शान्तिका नाममा जनताका अधिकार एकपछि अर्को गर्दै सरकारले खोस्दै गएको आरोप समेत लगाउनु भयो ।
उहाँले देश र जनताको जनजिविकामा देखिएका जटिलतालाई सलरिकृत गर्नकालागि अव एकिकृत जनक्रान्तिको आवश्यकता औंल्याउँदै सो पार्टीले त्यसैको तयारी गरेको जानकारी गराउनु भयो ।
सडकमा हुँदै जनता र राष्ट्रियताको चर्को नारा लगाएपनि सरकारमा गएपछि देश र जनतालाई छाडेर दलाल, पुजीपति तथा शक्तिराष्ट्रको चाहना अनुसार काम गरेको आरोप लगाउँदै यो सरकार परिवर्तन गर्न आवश्यक रहेको र त्यसकालागि क्रान्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । विश्व परिवेश, विगतको जनक्रान्ति, अहिलेको परिवेश सबैलाई हरेर वार्ता, मास मुभमेन्ट र त्यसबाट पनि नभएर ससक्त प्रतिकारात्मक अभियान सञ्चालनकालागि पार्टी तयार रहेको उहाँले बताउनु भयो ।
उहाँले कम्युनिष्टका नाममा संसदीय व्यबस्थाका दलालले सञ्चालन गरेको यो सरकार अवको ५÷६ महिना पनि चलाउन प्रधानमन्त्री केपी ओलीलाई समस्या भएको बताउँदै आफ्नै पार्टी सञ्चालन गर्न नसक्नेले सरकार चलाउन नसक्ने टिप्पणी गर्नुभयो । सरकार बनेको एक वर्ष पुरा हुँदा पनि प्रभावकारी केही पनि काम हुन नसकेको विश्लेषण गर्दै दुई तिहाई बहुमतको सरकार भए पनि जनताका सपनालाई निराशा पार्नुले यो सरकार हुनु नहुनुको कुनै औचित्य नभएको टिप्पण्ी गर्नुभयो ।
दुई तिहाईको सरकार बनेपछि १९५० यताका असमान सन्धिहरु पुनरावलोकन हुने आशा र अपेक्षा गरिएपनि ओली सरकारले प्याकेजमै राष्ट्रघात गर्ने काम गरेको उहाँले आरोप लगाउनु भयो । उहाँले सरकारले छुटेका समुहसंग वार्ता गर्नकालागि टोली बनाएको बताउँदै आफ्नो पार्टीसंग वार्ता गर्ने हो भने सो पार्टीको पाजिसन क्लियर गर्नुपर्ने भनाई राख्नुभयो । ‘सरकारले हामीसंग वार्ता गर्न चाहेको हो भने हाम्रो पोजिसन क्लियस गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–‘सरकारले छुटेका समुहसंग वार्ताकालागि टोली बनाएको हो, हाम्रो छुटेको समुह होईन, जनताको पार्टी हो ।’
पत्रकारहरुको जिज्ञासामा भारतमा बसेर नेपालमा क्रान्ति हुँदैन भन्ने आफूहरुको भनाई रहेको बताउँदै उहाँले भन्नुभयो–‘मलाई एरेष्ट गनुर््भन्दा पहिला मलाई पनि ईण्डियामा छ भन्थे, त्यस्तै उहाँ (अध्यक्ष नेत्रविक्रम चन्द) पनि नेपालमै हुनुहुन्छ, हामी निरन्तर संवाद, भेटघाट तथा छलफलमै छौं ।’