‘वडा अध्यक्षको खोजीमा प्रहरीले चासो देखाएन’

1.3K

‘वडा अध्यक्षको खोजीमा प्रहरीले चासो देखाएन’

बुटवल, १९ पुस । हराएका वडा अध्यक्षको खोजविनमा प्रहरी प्रशासनले चासो नदेखाएको आफन्तले गुनासो गरेका छन् । यहि पुसको २ गते हराएका अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष ४१ वर्षीय विष्णुप्रसाद भुसाल (विनोद)को खोजीमा प्रहरी प्रशासनले चासो नदेखाएको बताउँदै दाजु जीवलाल भुसालले सहयोगका लागि सबैलाई अपिल गर्नुभयो ।
बुटवलमा पत्रकार सम्मेलन गरेर दाजु जीवलालले अहिले पनि प्रहरी प्रशासनले सुरुमा आफूहरुले उपलब्ध गराएको सूचना बाहेक केही दिन नसकेको बताउँदै भाईको खोजविनकालागि प्रहरी प्रशासनलाई दवाव सिर्जना गराईदिन समेत आग्रह गर्नुभएको हो ।
यहि पुसको २ गते घरबाट जिल्ला सदरमुकाम सन्दिखर्क गएका भुसाल सन्दिखर्कको गुन्टेखोला स्थित यामाहाको ग्यारेजमा मोटरसाईकल बनाउन छाडेर हिडेको दाजु जीवलालले बताउनु भयो । उहाँका अनुसार फर्निचर व्यबसायी समेत रहेका वडा अध्यक्ष भुसाललाई करिव २ बजे फोन गर्दा कपिलबस्तुको बनगाईमा बस चालकले फोन उठाएर गोरुसिंगेमै झरेपनि मोवाईल छुटेको बताएका थिए ।
भाईको खोजी गर्दै आफन्त ईष्टमित्र सबैतिर कहिँपनि नभेटिएपछि परिवारले ४ गते मात्र प्रहरीलाई जानकारी गराएर खोजी गरिदिन आग्रह गरेका थिए भने १० गते अर्घाखाँचीमा पत्रकार सम्मेलन गरेर खोजविनकालागि सार्वजनिक रुपमा अपिल गरेका थिए । हराएको लामो समय हुँदा पनि खोजविनमा प्रहरी प्रशासनले खासै चासो नदेखाएको उहाँले बताउनु भयो ।
तत्कालिन एमालेबाट वडा अध्यक्षमा विजय भएका भुसालको खोजीमा सरकार लाग्ने हो भने भेटाउने भएपनि खोजीविनमा सरकार र मातहका निकायले चासो नदिँदा समस्या भएको उहाँले बताउनु भयो । ‘प्रहरीले खोजीकार्य भईरहेको छ भन्छ ।’ उहाँले भन्नुभयो–‘तर प्रहरी प्रशासनले केही गरेको देखिएन ।’
उनका सानोबुवा यदुनाथ पाण्डेले परिवारमा कुनै समस्या नभएको, वडा अध्यक्षको भूमिकामा रहँदा पनि कुनै समस्या नभएको र व्यबसायमा पनि कुनै समस्या नभएकाले परिवारमा सन्देह उत्पन्न भएको बताउनु भयो ।