बुटवल, माघ । आफ्नो दलका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्रीहरुका नामका शुशिल कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला स्वास प्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्याए प्रदेशसभा बैठक अवरुद्ध गर्ने नेपाली काँग्रेसका सांसदले चेतावनी दिएका छन् । आइतबार बसेको प्रदेश नं ५ प्रदेशसभमा बैठकमा बिशेष समय लिएर बोल्दै काँग्रेस सांसद वसिउद्धिन खाँले गिरिजाप्रसाद कोइराला र शुसिल कोइराला नेपाली काँग्रेसका मात्र नभएर देशकै नेता भएको भन्दै उहाँहरुका नाममा सञ्चालीत अस्पतालहरु बन्द गर्ने सरकारको निर्णय सच्याउन माग गर्नुभयो ।

उहाँले प्रजातान्त्रिक आन्दोलनका अग्रणि ब्यक्तित्व गिरीजा प्रसाद कोइराला र शुसिल कोइरालाको नाममा सञ्चालित अस्पताल बन्द गर्ने निर्णय तत्कालन सच्याए नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेर सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो । आफ्ना समस्या राखेकै भरमा प्रदेशसभा सचिवालयले मर्यादापालकलाई कार्वाही गरेको घटनाप्रति आपत्ति जनाउदै सांसद खाँले त्यसबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
लोकतन्त्रमा आफ्ना जायज माग राख्न पाउने आम नागरिकको नैसर्गीक अधिकार रहेको भन्दै उहाँले आफ्ना समस्या राखेकै भरमा मर्यादापालकमाथि कार्बाही गर्नु निन्दनीय भएको बताउनु भयो ।
सांसद खाँनले मर्चवारलाई भैरहवासंग जोड्ने मुख्य बाटो नै अन्तराष्ट्रिय बिमानस्थलले अधिग्रहण गरिदिदा दक्षिणका तीन वटा गाँउपालिकाका जनताले आवागमनमा समस्या भोग्नु परेको समेत बताउनु भयो । ‘पुरानो बाटो बिमानस्थलले भत्काएपछि मर्चवारबासीहरु हिले र धुले बाटो हिंड्न बाध्य छन । त्यसको बिकल्पमा नयाँ बाटो बनाउने तर्फ प्रदेश सरकारको ध्यान जाओस्’ सांसद खाँनले भन्नुभयो ।
बर्दियाका सांसद दिपेश थारुले सदनमा आफुहरुले उठाएका माग र समस्याहरुको सम्बोधनमा प्रदेश सरकार गम्भिर नदेखिएको बताउनु भयो । प्रदेशसभामा विशेष समय लिएर बोल्दै नेकपाका सांसद दिपेश थारुले सांसदहरुले संसदमा पटक÷पटक आवाज उठाए पनि समस्या समाधान नभएको गुनासो गर्दै कर्णाली नदीमा पुल बनेर पनि हुलाकी राजमार्गमा पर्ने वन क्षेत्रका रुखहरु हटाउने काम नहुदा पुल उपयोगविहिन बनेको र सो सम्बन्धमा आफुले पटक÷पटक संसदमा आवाज उठाए पनि संबोधन नभएको गुनासो गर्नुभयो ।
हुलाकी मार्गमा पर्ने वन क्षेत्रका रुखहरु सम्बन्धित निकायले नहटाए रुख हटाउने अभियानको नेतृत्व आफैले गर्ने चेतावनी समेत दिनुभयो । कर्णाली नदि नियन्त्रण आयोजनाको काम समयमा शुरु नहुदा त्यस क्षेत्रका वस्ती डुवानमा पर्ने खतरा रहेको भन्दै तत्काल काम अगाडि बढाउन उहाँले माग गर्नुभयो ।
हुलाकीमार्गको सर्भे डिजाइन भारतीय प्राविधिकहरुबाट भएको भन्दै उहाँले सर्भे डिजाइननै नेपाली भुभाग डुवानमा पर्ने खालको भएको आरोप समेत लगाउनु भयो । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश भवन निर्माण कार्यलाई ब्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभाको भौतिक पुर्वाधार तथा विकास समितिमा पठाउने निर्णय गरेको छ । प्रदेशसभाको अर्को बैठक यही माघ १८ गते बस्ने छ ।