दुर्घटना न्यूनीकरणका लागि टिप्परलाई टाईम कार्ड

1.3K

दुर्घटना न्यूनीकरणका लागि टिप्परलाई टाईम कार्ड


बुटवल, माघ । रुपन्देहीको बुटवलमा टिप्परका लागि टाईम कार्ड लागु गरिएको छ । बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आईतबारदेखि टाईम कार्ड लागु गरेको हो । टिप्परका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले टाईम कार्डलाई अनिवार्य गराएको छ ।

निश्चित समय र स्पिडमा मात्र टिप्परहरुलाई सडकमा गुड्न दिने गरी टाईम कार्ड अनिवार्य गराईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनु भयो । पाल्पा र रुपन्देहीको सीमाना तल्लो सिद्वबाबाबाट टिप्परका लागि टाईम कार्ड लागु गरिएको हो । पाल्पा बाट चुन ढुङ्गा बोकेर आउने टिप्परले ट्राफिक प्रहरीको सिद्धबाबा स्थित विट बाट अनिवार्य टाईम कार्ड लिनुपर्ने छ र टाईम कार्डमा उल्लेख भएको गतिमा टिप्पर कुदाउनु पर्ने प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनु भयो । टाईम कार्ड अनुसार समयको पालना नगर्ने चालकलाई कानुन अनुसार कारवाही गरिने उहाँले बताउनु भयो ।

टाईम कार्ड अनुसार चालकहरुले टिप्पर नचलाएमा कारवाही गरिने छ । टाईम कार्ड अनुसार अब सडकमा टिप्पर गुडाउंदा २० देखि ३० को स्पिड भन्दा बढी स्पिडमा गुडाउन पाईने छैन भने चालकले तोकेको स्थानमा अनिवार्य टाईम कार्ड देखाई इन्ट्री गर्नुपर्ने छ । टाईम कार्डमा उल्लेख भएको स्पिड र समय सीमा अनुसार सिद्वबाबादेखि धगो कारखाना सम्म ७ किलो मिटर दुरीको लागि २० को स्पिडमा २१ मिनेट, धागोकारखाना रामनगरदेखि नवलपरासीको सुनवलसम्मको २३ किलो मिटर दुरीको लागि ४६ मिनेटको समय तोकिएको छ ।

यस्तै नवलपरासीको सुनवलदेखि बर्दघाटको १७ किलो मिटरको दुरीको लागि ३४ मिनेट, सिद्वाबाबा देखि मंगलापुर सम्मको १५ किलो मिटरको दुरीको लागि ३० मिनेट, मंगलापुरदेखि भैरहवाको अञ्चलपुर सम्म ९ किलो मिटरको दुरीको लागि १८ मिनेट समय तोकिएको छ । त्यस्तै कपिलवस्तुको गोरुसिङ्गे देखि मुर्गिया सम्म ३२ किलो मिटरको दुरीका लागि ६४ मिनेट, मुर्गिया देखि धागो काराखाना रामनगर सम्मको २० किलो मिटर दुरीको लागि ४० मिनेट र मुर्गियादेखि मंगलापुर सम्मको २४ किलो मिटरको दुरीको लागि ४८ मिनेट समय सीमा तोकिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले आईतबार टिप्परका चालकहरुलाई सिद्धबाबामा प्रशिक्षणमुलक कार्यक्रम सहित टाईम कार्ड वितरण गरेको हो ।

टिप्पर चालकहरुले तोकिएको चेक प्वाईन्टमा टाईम कार्ड अनिवार्य ईन्ट्री गराउनु पर्ने छ । कुनै चेक प्वाइन्टमा ईन्ट्री नगराई टिप्पर भागेमा अर्को चेक प्वाईन्टले कारवाही गर्ने छ भने तोकिएको समय भन्दा छिटो आउने जाने गरेमा समेत नियमानुसार जरिवाना गरिने ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सवारी आवागमन समय अभिलेखमा उल्लेख गरिएको छ ।