प्रेसलाई नियन्त्रण गर्न खोजिएको होईन : मन्त्री बाँस्कोटा

1.3K

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होईन : मन्त्री बाँस्कोटा


बुटवल, माघ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित र बलियो बनाउने गरि ऐन कानुन निर्माणमा जुटेको बताउनु भएको छ । अहिले सरकारले गरेका हरेक गतिविधिलाई नकरात्मक रुपमा प्रचार गर्ने काम भएको बताउंदै मन्त्री बाँस्कोटाले सरकार नागरिक अधिकारलाई थप बलियो बनाउने पक्षमा रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको बार्षिक साधारणसभा तथा पुरस्कार वितरण समारोहलाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले प्रेसलाई सँकुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । सरकारले पे्रस कानुन ल्याउने बताउंदै उहाँले पे्रस सम्बन्धी कानुनको विषयमा धेरै हल्लावाजी गरिएको उल्लेख गर्नुभयो । अंध्यारोमा तारो हान्न नहुने भन्दै मन्त्री बाँस्कोटाले अंध्यारोमा तारो हान्दा अरुलाई लाग्न सक्ने भएकाले यसतर्फ गम्भीर हुन आग्रह गर्नुभयो ।

जनतालाई सुसूचित हुने अधिकारका लागि पत्रकारिता क्षेत्रलाई सफल र सुदृढ बनाउन सरकारले सञ्चार कानुन संसदमा पेश गरेको उहाँले बताउनु भयो । विज्ञापन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको बताउँदै उहाँले यसले मिडियालाई फाइदा गर्ने बताउनु भयो । ‘सबै भन्दा बढि माग मोफसलका मिडियाले गरेका हुन, त्यसलाई सम्बोधन गर्न विज्ञापन ऐन ल्याइएको हो ।’ मन्त्री बाँसकोटाले भन्नुभयो–‘विज्ञापन ऐनले नेपालको १२ अर्बको विज्ञापनलाई २० अर्बमा पु¥याउने छ ।’
मन्त्री बाँस्कोटाले ६५ बर्ष पुगेका पत्रकारलाई निवृत भरणको व्यवस्था, सञ्चारग्राम स्थापनाका लागि ७ वटै प्रदेशमा स्थापना गर्न सम्झौता हुनु सरकारको उपलब्धि भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघले श्रमजिवि पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा गर्दा पनि विरोध हुनु अस्वभाविक भएको उहाँले बताउनु भयो । उहाँले यसको विरोध भएपनि सरकारले कार्यान्वयन गरेरै छाड्ने बताउनु भयो । आफू पत्रकारिता क्षेत्रबाट आएकाले यसको विकास र मर्मलाई बुझेर कार्यक्रम ल्याइने उहाँले बताउनु भयो । काम गर्न लागेको सरकारलाई प्रतिपक्षले खेद्न खोजेको आरोप लगाउंदै उहाँले जनताले विश्वास गरेको कम्युनिष्टको दुई तिहाईको सरकार सिस्टमले अगाडी बढेको बताउनु भयो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्ने दायित्व सबैको भएको उल्लेख गर्दै मन्त्री वाँस्कोटाले जति असन्तोष पोखेर काममा बाधा हालिएपनि सरकारले दृढ भएर पाँच वर्षसम्म काम गर्छ भन्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरि मिडियाले बिषय उठाउनुपर्ने बताउनु भयो । उहाँले समृद्धि मूलुकको आवश्यकता भएकाले मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बेला आएको बताउनु भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले साना मिडिया बलियो नहुँदासम्म श्रमजिवि ऐन लागू हुन नसक्ने बताए ।

प्रदेश नम्बर ५ का सांसद कमला विश्वकर्माले समाज परिवर्तनमा पत्रकारिताले धेरै काम गर्न सक्ने भन्दै यसको शक्तिलाई सदुपयोग गर्न आग्रह गर्नुभयो । पूर्व सांसद विनोद पहाडीले मूलूक संघीयतामा गएपनि प्रेस पास तथा अन्य सेवा लिन कठिन भएकाले समाधान गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रका व्यक्ति सञ्चारमन्त्री भएकाले सञ्चार क्षेत्रलाई राहत र सहजता ल्याउने गरि काम गर्न आग्रह गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले नेपालको समृद्धिका लागि बजेट, नीति, कार्यक्रम र दीगो विकास लक्ष्यमा कुनै विमती छैन भन्दै प्राथमिक क्षेत्रमा लगानी भयो की भएन त्यसमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयनका लागि पत्रकारहरुले पनि जिम्मेवार पूर्वक कलम चलाउने बेला आएको बताउदै उहाँले भ्रष्टाचार र अनियमिततालाई तोड्न सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले समाचार लेख्न र प्रकाशन तथा प्रशारण गर्नुअघि पटक पटक सोँच्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले रुपन्देहीको पत्रकारिता सक्षम रहेको बताउँदै अझै यसको स्तरीयता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार महासंघको ३० लाख रुपैयाँ अक्षयकोष बनाउने लक्ष्यमा तिलोत्तमा नगरपालिका सहभागी हुने भन्दै आगामी आर्थिक बर्षमा उपलब्ध गराउने गरि ५ लाख रुपैयाँ अक्षयकोषलाई दिने घोषणा गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार खिमानन्द भट्टराई, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनाल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलम, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, उत्कृष्ट पत्रकारिता मूल्यांकन समितिका संयोजक डिआर घिमिरे, शैक्षिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक इन्दिरा अर्याल, लगायतले बोल्दै पत्रकारितालाई विश्वसनीय बनाउन आग्रह गर्नुभयो । कार्यक्रम पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षता र सचिव रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।