कर्मचारी र कानुनको अभावमा काम गर्न सकिएन : मन्त्री बराल

1.3K

कर्मचारी र कानुनको अभावमा काम गर्न सकिएन : मन्त्री बराल

बुटवल, ११ फागुन । प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले ग्रामिण क्षेत्र अघोषित रुपमा बृद्धाश्रमको रुपमा बिकास भएको बताउनु भएको छ । ग्रामिण क्षेत्रका युवा रोजगारीको सिलसिलामा बिदेश तथा शहर पस्ने र गाउँ नफर्किने गरेका कारण ग्रामिण क्षेत्रमा बृद्धबृद्धा मात्रै रहेको उहाँले बताउनु भएको हो । शहर पसेका युवालाई गाउँफर्क अभियान सञ्चालन गरि ग्रामिण क्षेत्रको समाज रुपान्तरणकालागि प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको मन्त्री बरालले बताउनु भयो ।
गुल्मी सिमिचौर समाज रुपन्देहीको दोस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले युवा पलायन रोक्नकालागि सामाजिक बिकास मन्त्रालयले ६ हजार युवालाई सीपमुलक तालिम सञ्चालनको तयारी गरेको जानकारी गराउनु भयो । उहाँले प्रदेशमा कर्मचारी र कानुनको अभावले जनताले अपेक्षा गरे अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य गीता थापाले प्रदेशको राजधानी र नामाकरणका बारेमा प्रदेश सभाले समिति बनाएर जनमत संकलनको काम सुरु गरेको बताउनु भयो । उहाँले भविश्यका पुस्ताले आहा भन्नेगरी प्रदेशको स्थायी राजधानी र नामाकरण गरिने बताउनु भयो ।
त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले दुई तिहाईको स्थिर सरकार भएपनि जनताले स्थिर सरकारको महसुश गर्नेगरी काम गर्न नसकेको आरोप लागाउनु भयो । समाजका अध्यक्ष मोहनलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुमन केसीले गर्नुभएको थियो ।
अधिवेशनले नेत्रबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मानबहादुर केसी (सुमन), सचिवमा जनकलाल पाण्डे, कोषाध्यक्ष कृष्णबहादुर कार्की, सहसचिवमा रमेश पाण्डे, सहकोषाध्यक्षमा ढुण्डीराज अर्याललाई चयन गरेको छ ।