बुटवल, १५ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । तेह्रथुमको आठराई गाउँपालिकामा भएको कार्यक्रममा सहभागि हुन पुग्नु भएका मन्त्री अधिकारी सवार कल साइन अल्फा माइक इन्डिया (एएमआई) हेलिकप्टरमा मन्त्री सहित सात जना सवार थिए । दुर्घटनामा परि उक्त हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका उक्त हेलिकप्टर उठेको थियो । उक्त हेलीकप्टरमा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार हुनुहुन्थ्यो ।
तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङमा रहेको पाथिभरा दर्शन गरेर फर्कने क्रममा ताप्लेजुङ्को फुङलिङ नगरपालिका वडा नम्बर १० मा पर्ने सिस्ने खोला सिरान दारे भीरमा हेलिकप्टर दुर्घटनामा परेको हो ।
