
बुटवल, १८ फागुन । देशभक्त जनगणतान्त्रिक मोर्चाका सचिव परी थापाले सरकार हरेक क्षेत्रमा असफल भएको बताउनु भएको छ । उहाँले भ्रष्टाचार संस्थागत हुँदै गएको, अपराध बढ्दै गएको, शान्ति सुव्यबस्था कायम गर्न नसकेको लगायतका कारण देखाउँदै सरकार असफल भएको बताउनु भएको हो ।
मेचिमहाकाली जनजागरण अभियान अन्तरगत बुटवल आएको टोलीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा टोलीका संयोजक समेत रहनुभएका थापाले सहिद वेपत्ता तथा घाईतेको अवस्था वेहाल भएको बताउँदै जनयुद्धका नाईके पुष्पकमल दाहाल पुष्कमल दाहाल प्रधानमन्त्री ओलीका सामु लम्पसार पर्न गएको आरोप लगाउनु भयो । उहाँले जनताले परिवर्तनमा पु¥याएको योगदानको सरकारले कदर गर्न नसकेको बताउँदै आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन जरुरी रहेको उल्लेख गर्नुभयो । ‘अहिलेको सरकार खिया लागेको हसिँया हो ।’ उहाँले भन्नुभयो–‘खिया लागेको हसिँयाले तरकारी काटेर खान्छु र टिटानसबाट बँच्छु भन्नु मुर्खता हो ।’
भारतले बनाएको नेपालको नक्सा सिंहदरवारदेखि स्थानीय तहसम्म झुण्याएको बताउँदै उहाँले प्रधानमन्त्री ओलीले वकालत गरेको राष्ट्रवाद खोक्रो सावित भएको आरोप लगाउनु भयो । अहिले पनि भारतीय पक्षबाट नेपालका ७१ स्थानमा सिमा मिचिएको दावी गर्दै उहाँले नेपालको भूभागमा १० हजार १९ वर्गकिलोमिटर हराएको उल्लेख गर्नुभयो ।
यहि फागुन ७ गतेदेखि पूर्वको मेची र पश्चिमको महाकालीबाट मोर्चाले एकैसाथ जनजागरण अभियान सुरु गरेको थियो । थापाले नेतृत्व गरेको पश्चिमको टोली शनिबार बुटवल आईपुगेको हो । बुटवल आएको टोलीले शनिबार नै बुटवलको अस्पताललाईनमा कोण सभा गरेको थियो ।