बुटवल, फागुन । प्रदेश ५ को प्रदेश सभा वैठकमा सरकारले सिके राउतसंग गरेको सहमति र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाद्धारा विभिन्न जिल्लामा भैरहेका गतिविधि बारे सांसदहरुले प्रश्न उठाएका छन् ।

आईतबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै नेकपाका सांसद दिपेन्द्रकुमार पुनले विप्लव नेतृत्वको पार्टीले रोल्पामा सवारी साधनहरु जलाउने, तोडफोड गर्ने र स्थानीय तहमा जाने बजेटबाट २ प्रतिशत र ठेकेदारहरुसँगबाट समेत २ प्रतिशत कमिसन माग गरेर आतंक सिर्जना गरेको भन्दै त्यस्तो कार्यमा संलग्नहरुलाई कडा कानूनी कार्बाही गर्न माग गर्नुभयो ।
पुर्व नेकपा (ए माओवादी) बाट प्रदेशसभामा निर्वाचित सांसद पुनले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रोल्पा, कपिलवस्तु लगायतका जिल्लामा अशान्ति र अस्थिरता फैलाउने गतिविधि सञ्चालन गरेर आतंक सिर्जना गरेकाले त्यस्तो कार्यमा संलग्नहरुलाई कार्बाही नगरे उनीहरुको मनोवल बढ्ने तर्फ संकेत गर्दै तत्काल कार्बाही गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थायी शान्ति र स्थिर सरकार बिना मुलुक समृद्ध हुन नसक्ने बताउदै उहाँले मुलुकमा स्थायी शान्ति र स्थिर सरकार भएको अवस्थामा समेत केही तत्वले अशान्ति र अस्थिरता फैलाउन थालेकाले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
रोल्पामा फागुन २२ गते राति विकास निर्माणमा प्रयोग हुने सवारीसाधन र २३ गते राति वडा अध्यक्षको मोटरसाइकलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको उहाँले जानकारी गराउनु भयो ।
बैठकमा बेल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले सीके राउतसंग सरकारले गरेको सहमतिको बुंदा नंं २ र ४ नं मा उल्लेखित भाषा अस्पष्ट भएकाले सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो । सहमतिको २ नंं बुंदामा उल्लेख गरिएको भाषालाई सिके राउत र राउतका समर्थकले जनमत संग्रह भन्दै व्याख्या गरेकाले जनतामा अन्योलता थपिएको र सहमतिप्रति सत्तारुढ दलका नेताहरुबाटै विरोध भएकाले यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।
सांसद जिसीले प्रमुख जिल्ला अधिकारीलाई केन्द्र मातहत राखेर संघले प्रदेश सरकारसंग समानान्तर प्रशासन चलाउन खाजेको भन्दै विरोध जनाउनु भयो । उहाँले संघीयताको दुष्परिणामहरु एक वर्षमै देखिन थालेका दाबी समेत गर्नुभयोे । सरकारी अस्पतालहरुमा उपचारका लागि आवश्यक औषधि र सेवाहरु नभएको, सरकारले भन्दै आएको समृद्धि सांसद र सरकार वरिपरि बस्नेलाई मात्रै आएको र विभिन्न जिल्लामा टिप्पर आतंक बढेकाले त्यसलाई नियन्त्रण गर्न उहाँले माग गर्नुभयो ।
प्रदेशसभामा बिशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका सांसद अष्टभुजा पाठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा प्रदेशसभा सदस्यहरुको भूमिका स्पष्ट नभएको भन्दै प्रस्ट्याउन माग गर्नुभयो ।
मुख्यमन्त्रीले गाउँपालिकाका पदाधिकारी र कर्मचारीलाई उक्त कार्यक्रममा मनोनित गरेको तर प्रदेशसभा सदस्यलाई बाइपास गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनु भयो । उहाँले उक्त कार्यक्रममा प्रदेशसभा सदस्यको भूमिका स्पष्ट पार्न समेत आग्रह गर्नुभयो ।
प्रदेश सभाको आईतवारको वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले पेश गर्नु भएको प्रदेश ५ जांचबुझ आयोग गठन तथा काम कर्तब्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले पेश गर्नु भएको प्रदेश ५ भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पेश गर्नु भएको दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको समितिको प्रतिवेदन सहितको विधेयक पारित गरेको छ ।
यस्तै सामाजिक विकास मन्त्री सुदर्शन बरालले पेश गर्नु भएको प्रदेश ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, संचालन,नविकरण तथा स्तरोन्नति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नंं ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभाको सामाजिक विकास समितिमा पठाउने निर्णय गरेको छ । प्रदेश सभाको अर्को वैठक सोमबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।