
बुटवल, २३ चैत । मुलुकको समृद्धिका लागि संचार माध्यम र राजनीतिक दलहरुकाबीच सहकार्य आवस्यक रहेको एक कार्यक्रमका बक्तहरुले जोड दिएका छन् । सिद्धार्थ पब्लिकेशन प्रालिद्धारा प्रकाशित लुम्बिनी दैनिकको ३१ औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको ‘संमृद्धिको यात्रामा सञ्चार माध्यम’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बत्ताहरुले सहकार्यको अर्को नाम नै संमृद्धि भएको बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादनको क्षेत्रमा बृद्धि गर्न सकेमा मात्र देश संमृद्धिको दिशामा अघिबढ्न सक्ने बताउनु भयो । उहाँले पत्रकारिता उत्पादन बढाउने गरी उत्प्रेरणा दिन तर्फ उन्मुख हुन सकेमा मात्र संमृद्धिको सपना साकार हुने उल्लेख गर्नुभयो । संघीय प्रणलीमा देश गइसकेकाले अवको यात्रा विकास र संमृद्धिको मात्र रहेको भन्दै उहाँले व्यवस्था परिवर्तनलाई सही ढंगले प्रचार गर्न नसकिएकाले संचार माध्यमहरुले त्यसमा सघाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले देशमा हुने राजनीतिक परिवर्तनमा मिडियाहरु पक्षपाति रहँदै आएको स्मरण गर्दै मिडियाहरुले सरकारका काम कारवाहीका विषयमा रचनात्मक भूमिका खेल्नु पर्ने बताउनु भयो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले समाज रुपान्तरणका लागि मिडियाले सकारात्मक भूमिका निभाउनु पर्नेमा जोड दिनुभयो । सञ्चार माध्यमहरुले स्थनीय सरकार देखि अन्य निकायहरुको निगरानी कर्ताका रुपमा शशक्त भूमिका निर्वाह गर्नुपर्ने वताउनु भयो । भिजन लुम्बिनीका अध्यक्ष जगत पोख्रेलले मिडियाको भूमिका सकारात्मक दिशामा अघि बढ्नु पर्ने बताउनु भयो ।
सिद्धार्थ पब्लिकेशन प्रा.लिका अध्यक्ष मोहन चापागाइको अध्यक्षता, दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिसीको संचालन, पत्रिकाका सल्लाहाकार एमवि विश्वकर्माको स्वगतमा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ५ का कार्यवाहक अध्यक्ष भरत के.सी., पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पान्डे, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पान्डे, नयाँ शक्ति नेपालका मनिकर कार्की, रोडा ढुंगा व्यवसायि महासंघ प्रदेश ५ अध्यक्ष गोपाल ज्ञवालीलगाएतले बोल्दै संमृद्धिको सुरुवात मिडियाबाट गर्नु पर्ने बताउनु भयो ।