प्रधानमन्त्री ओली नै संघीयताको विपक्षमा : डा. भट्टराई

1.3K

प्रधानमन्त्री ओली नै संघीयताको विपक्षमा : डा. भट्टराई

बुटवल, २३ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नै संघीयताको विपक्षमा रहेको आरोप लगाउनु भएको छ । उहाँले प्रधामन्त्री ओली तथा काँग्रेसका केही नेताहरुले आफूसंगको भेटमा प्रष्ट रुपमा संघीयताको विपक्षमा भनाई राखेको बताउनु भयो । उहाँले भन्नुभयो–‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरुले हामीले त संघीयता मानेकै थिएनौं, तपाईले के भिराइदिनु भो भन्नुहुन्छ ।’

मगर राष्ट्रिय परिषदको संघीय भेलाको शनिबार बुटवलमा उद्घाटन गर्दै पार्टीका संयोजक भट्टराईले पहिलो संविधानसभामा कांग्रेस र एमाले पहिचानका आधारमा १० प्रदेश बनाउने सहमतिबाट पछि हटेको स्मरण गर्नुभयो । तत्कालीन कांग्रेस र एमालेसँगै माओवादीले पनि मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सिमांकनमा सहमति जनाएपछि आफूलाई माओवादीप्रति वितृष्णा जागेको उहाँले उल्लेख गर्नुभयो ।

शनिबार नै बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहनुभएको नेता भट्टराईले पहिचान सहितका प्रदेशहरु स्थापना र संविधान संशोधन लगायतका मुद्दामा नेकपा, कांग्रेस र राप्रपा वाहेकका शक्तिसँग ध्रुविकरण गर्ने तयारीमा नयाँ शक्ति लागेको जानकारी गराउनु भयो ।

आदिवासी जनजाति, दलित, महिलाका अधिकार र भ्रष्टाचारको विरुद्ध फेरि एकपटक सशक्त आन्दोलन उठ्ने दावी गर्दै उहाँले भन्नुभयो–‘हामी विप्लवजीहरु जस्तो बन्दुकै उठाउने, देश अस्तव्यस्त गराउने गिरोह होइन । तर पहिचान, अधिकार र भ्रष्टाचारको मद्दालाई गम्भीर रुपमा लिएका छौं ।’