सिद्धारामा गाउँफर्क अभियान, बसाईसराई घट्दै

1.3K

सिद्धारामा गाउँफर्क अभियान, बसाईसराई घट्दै


प्रेमनारायण आचार्य/ सन्धिखर्क, १० बैशाख । एक बर्ष अघि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्वर १० सिद्धारा हर्रेका माधवप्रसाद पौडेलले हर्रेमा रहेको जग्गा विक्री गर्न खोज्नुभयो । ‘जग्गा किन्नकालागि मानिसहरु खोजे तर जग्गा बिक्री भएन । एक बर्षपछि अर्थात आजभोली जग्गा किन्ने मानिसहरु दैनिक आउन थालेका छन् ।’ हर्रे र बर्रे क्षेत्रमा जग्गा किन्न आउने मानिसहरु ह्वात्तै बढेको पौडेलले बताउनु भयो ।

रुपन्देही र कपिलबस्तुबाट व्यवसायिक योजनाकासाथ हजारौ रोपनी जग्गा किन्न आउने मानिसहरु बढेका छन् । पौडेलले भन्नुभयो–‘अहिले जग्गा बेच्न स्थानीयले छाडे । जग्गा बिक्री गरेर तराई झरेका मानिसहरुपनि गाँउ फर्कन सुरु गरेका छन् ।’अर्घाखाँची जिल्लाकै अति विकट अर्थात जिल्लाकै कर्णाली भनेर चिनिने सिद्धारामा सडक पीच हुन थालेपछि जग्गाको मुल्य मात्र हैन व्यवसायीकतापनि बढेको छ । स्थानीयहरु हर्षित भएका छन् ।

शितगंगा नगरपालिकाको केन्द्र ठाडामा आउने कच्ची बाटो रहेपनि बर्षातको समयमा बाटो बन्द हुदै आएको थियो । त्यही सडककै कारण स्थानीयहरु धमाधम बसाइसराई गरेर गएका थिए । एक बर्ष पहिलासम्म १२÷१५ हजार रोपनीमै जग्गा बेचेर हिडेकाहरु अहिले पछुताएका छन् । जसले जग्गा विक्री गरेर गयो अहिले सडक पीच हुन थालेपछि तिनै मानिस जग्गा खोज्दै आउने गरेको शितगंगा नगरपालिका १० का वडा अध्यक्ष हिम्मत पोखरेलले बताउनु भयो ।

हिउँदमा चल्ने र बर्षामा नचल्ने सडकका कारण बर्षामासमा कोही विरामी परेमा स्थानीयले विरामीलाई ४ घण्टा स्टेचर तथा डोकोमा बोकेर प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लैजान बाध्य थिए । अहिले गोरुसिंगे सन्धिखर्क सडकको चाक्ला देखि सिद्धाराको हर्रेसम्मको सडक पीच हुन थालेको छ । सडक पीच हुन थालेपछि स्थानीयहरु हर्षित भएका हुन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणबाट चाक्ला सिद्धारा, पाकुरी, नयाँबस्ती, धान खोला सडक निर्माण हुन थालेको हो । लुम्विनी अर्घाखाँची पुस्पा जेभीले २४ करोड ७४ लाखको लागतमा अहिले १० किलोमिटर पिचको काम गरिरहेको लुम्विनी अर्घाखाँची पुस्पा जेभीका प्रमुख बसन्त भुसालले बताउनु भयो । बहुबर्षीय काम भएकाले यो योजना महेन्द्र राजमार्गको धानखोला पुगेपछि मात्र सम्पन्न हुनेछ । योजनाको काम दु्रत गतिमा अगाडी बढेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण अर्घाखाँचीका निमित्त प्रमुख बलराम मिश्रले जानकारी गराउनु भयो ।

‘पाँच घण्टा पैदल हिडेर ठाठा पुग्थ्यौ, अहिले सडक बन्न सुरु गरेको छ, अब सडक पीच भएपछि २०÷२५ मिनेटमै ठाडा जान सकिने भयो ।’ हर्रेका ७३ बर्षिय बलबहादुर नेपालीले भन्नुभयो–‘अब त बर्षामा विरामी भएपनि गाडीमा लैजान सकिने भयो ।’ ४ घण्टा स्टेचर र डोकोमा बोकर विरामी ठाडा लैजानु पर्ने बाध्यता टरेको उहाँले बताउनु भयो । यो सडकले नेपालकै कृषि क्रान्तिमा जोडदिने देखिएको छ । सडक पीच हुन सुरु गरेसंगै रुपन्देही र कपिलबस्तुबाट आएर यहाँ कषि तथा पशु फर्महरु सञ्चालन गरेका छन् ।

विकट ठाउँ भएकै कारण यहाँका मानिसहरु बर्षेनी बसाइसराई गर्दै आएका थिए । सिद्धाराको वाड नम्वर १० बाटमात्रै बर्षेनी २५ देखि ३५ घरसम्म बसाइसराई गर्ने गरेका थिए । सडक पीच हुने भएपछि बसाइसराई रोकिने भएको स्थानीय जनता आधारभूत विद्यालयका प्रधनाध्यापक मणिराम पोखरेल बताउनु हुन्छ । जिल्लाकै विकट भनेर चिनिने सिद्धारामा सडक पीच हुन थालेपछि स्थानीयहरुले कृषि क्रान्ति गर्न सुरु गरेका छन् । यस सडकबाट शितगंगा १० सिद्धाराका स्थानीय मात्र हैन यस क्षेत्रका हजारौ मानिसहरु लाभान्वीत हुनेछन् । कामको गती हेर्दा तोकिएकै समयमा काम सम्पन्न हुने देखिएको निमित्त जिल्ला समन्वय अधिकारी शेषकान्त घिमिरेले बताउनु भयो ।