बँदेल मार्न थापेको विद्युतीय धरापमा एकजनाको मृत्यु, घटना लुकाउन खोज्ने पाँचजना पक्राउ

1.3K

बँदेल मार्न थापेको विद्युतीय धरापमा एकजनाको मृत्यु, घटना लुकाउन खोज्ने पाँचजना पक्राउ


बुटवल, ११ बैशाख । रुपन्देहीको तिलोत्तमामा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर एकजनाको ज्यान गएको छ । करिव दुई सातादेखि बेपत्ता भएका तिलोत्तमा नगरपालिका डा नं. ११ गणेशनगर स्थित भुपु सैनिक टोलका ४० वर्षिय मिन बहादुर गौतमको बंदेल मार्न थापेको विद्युतिय धरापमा परी मृत्यु भएको हो । सँगै गएका साथीहरुले विद्युतीय धराप थापेका र त्यसैमा परेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यही बैशाख १ गते राति स्थानीय ५–६ जना साथीहरु सहित गाउँ नजिकैको जंगलमा बंदेल मार्न गएका गौतमको बदेल मार्न थापिएको विद्युतीय धरापमा परी मृत्यु भएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गौतम हराएको खबर गाउँघर हुँदै प्रहरीसमक्ष पुगेपछि प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।

गौतमको मृत्यु पछि सँगै गएका साथीहरुले घटनालाई गुपचुप राख्न देवदह ९ स्थित जंगलमा खाडल खनेर पुरेको हुन सक्ने प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले पक्राउ परेकाहरुले गौतमको मृत्यु बँदेल मार्न राखिएको बिद्युतीय धरापमा परेको भने पनि वास्तविकता खोज्ने प्रयत्न भई रहेको बताउनु भयो ।

घरपरिवार तथा टोल छिमेकसँग सोधपुछ गर्दै जाँदा बैशाख १ गते राति साथीहरुसँग बँदेल मार्न गएको र घर नफर्केको बताएपछि त्यतै केन्द्रित गरी अनुसन्धान गरिएको मल्लले बताउनु भयो । अनुसन्धान गर्दै जाँदा जंगलमा रगतका टाटा देखिएको र सँगै गएका युवाहरुलाई सोधपुछ गर्दै जाँदा गौतमको धरापमा परी मृत्यु भएपछि २ गते राति जंगलमा खाडल खनी पुरेको स्वीकार गरेको मल्लले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरिसकेको छ । प्रहरी नायब उपरीक्षक मल्लले पक्राउ परेका व्यक्तिहरुको सोधपुछ पछि बुधबार विहान मृतकको शव उत्खनन् गरिएको र उनीहरुमाथि अनुसन्धान सुरु गरिएको बताउनु भयो ।