‘तोरीको विकल्पमा सूर्यमुखी खेती’

1.3K

‘तोरीको विकल्पमा सूर्यमुखी खेती’

खेमानन्द पाठक/
कपिलवस्तु १५, बैशाख । वाणगंगा नगरपालिका वडा नम्बर ११ का किसानका खेतमा यतिबेला ढकमक्क फुलेको सूर्यमुखी देखिन्छ । यहाँका किसानले तोरीको विकल्पका रुपमा सूर्यमुखीको खेती गर्दै आएका छन् । सूर्यमुखी खेतीको पर्याप्त सम्भावना रहेपनि कपिलवस्तुका किसानले ब्यावसायिक खेतीगर्न भने अझै सकिरहेका छैनन् । आवश्यक प्राबिधिक ज्ञानको अभावका कारण किसान व्यबसायिक खेती गर्न हिच्कीचाउँछन् ।

बाँणगंगा नगरपालिका वडा नम्बर ११ चेतीयाका किसान रेशम डुम्रेले गएको ७ बर्षदेखि सुर्यमुखीको खेती गर्दै आउनुभएको छ । अहिले उहांको ५ कट्ठा जग्गामा सुर्यमुखी फुल ढकमक्क फुलेको छ । तर यो खेती उहाँले व्यबसायिक रुपमा भने गर्नुभएको होईन । बढी श्रम पनि गर्न नपर्ने र मलखाद पनि आवश्यक नपर्ने भएकाले तोरीको विकल्पमा घरखर्चकालागि सूर्यमुखी लगाएको उहाँ बताउनु हुन्छ । सुर्यमुखी खेती सम्बन्धि आवश्यक पर्ने प्राबिधिक ज्ञान नभएका कारण देखासिकी बाट नै आफुले खेती शुरु गरेको र अघिल्लो वर्ष राम्रो उत्पादन भएकाले निरन्तरता दिएको उहाँ बताउनु हुन्छ ।

तोरी खेती गर्दा बढि मेहनत लाग्ने, खेती स्याहार्न काम गर्ने मानिस नर्पाइने तोरी फूल्ने समयमा तुसारो लाग्यो भने फल नलाग्ने लगायतका कारण उहाँ मात्रै नभई त्यस त्यत्रका किसान पछिल्ला वर्ष सूर्यमुखीको खेतीप्रति आकर्षित भएका हुन् । ‘तोरी खेती गर्दा लगानी पनि नउठ्ने र सुर्यमुखीबाट तुलनात्मक बढी आम्दानी छ ।’ अर्का किसान शंकर भण्डारीले भन्नुभयो–‘तोरी भन्दा सूर्यखुखीबाट बढी फाईदा हुने भएकाले ४ बर्षदेखि सुर्यमुखी खेती गर्दै आएको छु ।’

फुलको बिउ थ्रेसिङ, सिचाई र तालिमको ब्यवस्था गरे वाणगंगा नगरपालिकाका किसान ब्यवसायिक रुपमा सुर्यमुखीको खेतीगर्न तयार रहेको भण्डारी बताउनु हुन्छ । त्यस्तै वाणगंगा नगरपालिका वडा नम्बर ८ तिलकानाका किसान जिवनारायण चौधरीले पनि ८ कट्ठा जग्गामा सुर्यमुखी फुल खेती गर्दै आउनु भएको छ । उहाँका अनुसार त्यो गाउँका अधिकांश किसानले सुर्यमुखी खेती गरेका छन् । तर सबै निर्वाहमुखी खेती हो । तोरीभन्दा सूर्यमुखी खेती गर्न सहज भएपनि सुगाबाट जोगाउन भने उत्तिकै समस्या छ त्यहाँका किसानलाई ।

सूर्यमुखी खेती जोगाउनकालागि बिचबिचमा पुत्ला राख्ने तथा किसान पालो लगाएर रुगेर बस्ने गरेको चौधरीले बताउनु भयो । पुस माघमा लगाईने सूर्यमुखीको बाली बैशाखको अन्तिममा पाक्छ । १० किलो सूर्यमुखीको दानाबाट सरदर चार लिटर तेल आउने किसान बताउँछन् । किसानकालागि बिभिन्न जातका बालीको बिउमा अनुदान दिएको नगरपालिकाले किसान आकर्षित भएको सूर्यमुखीको बिउमा भने अनुदान दिएको छैन ।

नगरपालिकाले किसानलाई धान, गहुँ, तरकारी, मकै लगायतका बालिमा किसानलाई बिउ खरिदमा अनुदान दिएको छ । बाँणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले अरु बालिको बिउ नगरपालिकाले उपलब्ध गराएपनि सूर्यमुखीको बिउ उपलब्ध नगराएकाले वडाले अनुदानमा सूर्यमुखीको बिउ वितरण गर्न नसकिएको बताउनु भयो । कपिलवस्तु जिल्लाको पुरानो तथ्यांक अनुसार करिव १५ हेक्टर क्षेत्रफलमा सूर्यमुखी खेती हुँदै आएको थियो ।

तर अहिले यसको खेती बढेको भएपनि तथ्यांक भने छैन । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्राविधिक सहायक वासुदेव पौडेलले नयाँ संरचना अनुसार कार्यालय व्यबस्थापन हुँदै गरेकाले खास तथ्यांक नभएको बताउनु भयो । सूर्यमुखी फुलको बिउ किसानले सिमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन् । किसानलाई बिउ, तालिम तथा प्राबिधिक सहयोग नगरपालिकाले गर्ने हो भने तेलहन सूर्यमुखी फूललाई नगदे बालिको रुपमा बिकास गर्न सक्ने प्रसस्त सम्भावना रहेको किसानहरु बताउँछन् ।