सन्धिखर्क, १७ बैशाख । पर्यटकीय स्थल नरपानीको गंगासरोवरमा डुंगा सञ्चालन गरिएको छ । नरपानीमा रहेको गंगासरोवरमा सन्धिखर्क नगरपालिकाले सोमबारदेखि औपचारिक रुपमा डुंगा सञ्चालन गरेको हो । डुंगा सञ्चालनकालागि आयोजना गरिएको औपचारिक कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रेवतीप्रसाद भुसालले नरपानी क्षेत्र जिल्लाकै पर्यटकीय क्षेत्र भएकाले यहाँका पर्यटन प्रवद्र्धनकालागि सबै एक भएर प्रचार प्रसारमा लाग्नुपर्ने बताउनु भयो ।
नरपानी क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न डुंगा सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले बताउनु भयो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा अध्यक्षहरु युवराज बन्जाडे, लिलाराम गौतम, प्रितमबहादुर थापा, लक्ष्मीनारायण चुँदाली, नारायण खड्का, पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसी लगायतले भनाई राख्नुभएको थियो ।
सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीका वडा अध्यक्ष कृष्णबहादुर आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य यमकला थापाको स्वागत र पत्रकार प्रेमनारायण आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।