
बुटवल, २१ बैशाख । नेकपा महासचिव बिष्णु पौडेलले नैतिकताको आधारमा राजिनामा गर्नुपर्ने नेपाली काँग्रेसका नेताहरुले सुझाव दिएका छन् । उनीहरुले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा काण्डमा मुछिएका पौडेलले नैतिकताको आधारमा राजिनामा गर्नुपर्ने र मतदातासंग माफिमाग्नु पर्ने बताएका हुन् ।
पत्रकार सम्मेलनमा गत प्रतिनीधि सभाको निर्वाचनमा नेकपा महासचिव पौडेलसंग प्रतिस्पर्धा गरेका नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरीले पौडेललाई नैतिकताका आधारमा पार्टीको महासचिव पदबाट राजिनामा दिन र मतदातासंग माफि माग्न सुझाव दिनु भएको हो । नेकपा महासचिव पौडेल निर्वाचित रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरी, प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ, महेशमान सिंह, बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डे, सैनामैना नगर प्रमुखका उम्मेदवार फणेन्द्र शर्मा र तिलोत्तमा नगरप्रमुखका उम्मेदवार रामकृष्ण खाँणद्वारा हस्ताक्षरित विज्ञप्तीमा बिष्णु पौडेल निर्वाचित क्षेत्रका मान्छे हौं भन्न पनि लज्जाबोध भएको उल्लेख गरिएको छ ।
सुकुम्बासी र भूमिहीनहरुलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफै सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरिएको उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन लागि परेको भन्दै यस्ता भ्रष्टाचार तथा अनियमिततामा नेपाली काँग्रेसका नेता संलग्न भएको भएपनि कारवाही गर्न नेता गिरीले आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा नेपाली काँगेसका सभापति शेरबहादुर देउवालाई दोषी देखाएर पौडेललाई उन्मुक्ति दिन नपाईने उहाँले बताउनु भयो ।
‘हामी आम नागरिक हाम्रा जनप्रतिनिधी असल, इमान्दार, लगनशिल, कर्तव्यनिष्ठ, सद्चरित्रवान, निष्कपट र निष्कलंक सेवकका रुपमा रहुन भन्ने चाहन्छौं ।’ विज्ञप्तीमा भनिएको छ–‘तर आज यहांका आम नागरिकको भावना र चाहनालाई पुरा गर्न पहल गर्नुको सट्टा जन अभिमतलाई अपमानित गर्दै निहित व्यक्तिगत स्वार्थका लागि बालुवाटारको सरकारी जग्गा भूमाफियासंग मिलेर आफ्नो नाममा बनाउने काम भएको छ ।’
प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवासको जग्गामध्ये ८ आना जग्गा बिष्णु पौडेलका छोरा नविनको नाममा आएको रहस्य बाहिर आएपछि अहिले चौतर्फी रुपमा नेकपा महासचिव पौडेलको बिरोध भएको छ ।