प्रदेश राजधानी टुंगो लगाउने प्रयास औपचारिकताकालागि मात्रै : सभामुख

1.3K

प्रदेश राजधानी टुंगो लगाउने प्रयास औपचारिकताकालागि मात्रै : सभामुख

बुटवल, २३ बैशाख । प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको राजधानी र नामाकरणकालागि अहिलेसम्म भएका कामहरु औपचारिकताकालागि मात्रै गरिएको भएको बताउनु भएको छ । सोमबार प्रदेश सभा सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको नाम र राजधानी टुंगो लगाउने काम राजनीतिक बिषय भएकाले राजनीतिक निर्णयले मात्रै यसको छिनोफानो हुने बताउनु भएको हो । उहाँले भन्नुभयो–‘प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने काम आफैमा राजनीतिक बिषय भएकाले यी सबै औपचारिकताकालागि मात्रै हुन् ।’

प्रदेश सभाले राजधानीको नामाकरण र स्थान छनौट गरि सिफारिसकालागि बिशेष समिति बनाएको थियो । उक्त समितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर सुझाव लिईसकेको छ । त्यस्तै उक्त समितिले विज्ञको सुझाव लिएर सरकारलाई नाम र स्थान सिफारिस गर्ने तयारी गरिरहेका बेला समामुख घर्तीले यी सबै काम औपचारिकताकालागि मात्रै भएको प्रतिक्रिया दिनुभएको हो ।

उक्त बिशेष समितिले भौगोलिकता, सुरक्षा, पूर्वाधार लगायतका आधारमा कहा राजधानी उपयुक्त हुन्छ ?, नाम के राख्दा राम्रो हुन्छ भन्ने बिषयमा परामर्श लिन बिज्ञसंग अन्तरक्रियाको तयारी गरेको छ । प्रदेश सभाको तेस्रो अधिवेशन सकिँदासम्म पनि राजधानीलाई प्रतिष्ठाको बिषयसंग जोडिएका कारण टुंगो लाग्न सकिरहेको छैन । प्रदेशको राजधानी र नाम टुंगो लगाउने प्रदेश सभाले भएपनि बहुमत सदस्य बुटवलको पक्षमा भएका कारण सरकारले प्रदेश सभा बैठकमा प्रस्तावसम्म लैजान सकेको छैन ।

सभामुख घर्तीको भनाईले पनि प्रदेशको स्थायी राजधानी र नामाकरण आफ्नो पक्षमा पर्ने नदेखिएकाले आलटाल भएको बुझ्न गाह्रो छैन । राजनीतिक रुपमा सहमति हुने हो भने राजधानी र नाम टुंगो लगाउने बिषयमा कुनै समस्या नभएको सभामुख घर्तीले बताउनु भयो ।